वीरगन्ज : छठ पर्वको दोस्रो दिन बुधबार साँझदेखि ब्रतालुहरूले खरना विधि पूरा गरेर निर्जला ब्रत सुरु गरेका छन्। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उपासना र लोक आस्थाको पर्व छठ विधिवत रूपमा मंगलबाट सुरु भएको हो।
छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय विधि सम्पन्न गरिएको थियो। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन बिहान व्रतालुहरूले नहायखाय विधि अर्थात् नुहाएर खाएका थिए।
त्यो दिन ब्रतालुहरूले नुहाइ धुवाइ गरी चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए। कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात् पर्वको दोस्रो दिन बुधबार साँझ खरना विधि गरिएको छ।
खरनाका दिन बुधबार साँझ व्रतालु महिला र पुरुषहरूले दिनभरि उपबास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर 'रसियाव', रोटी, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठी मातातालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका छन्।
यसरी खरना विधि सम्पन्न हुन्छ। त्यस्तै षष्ठी तिथि अर्थात् पर्वको तेस्रोदिन साँझ अस्ताउँदो सूर्य र सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत् रूपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रूपमा मानिने छठमा ब्रतालुहरू खरनाको दिनदेखि नै निर्जला र निराहार व्रत बस्छन्।
हेर्नुस् घडिअर्वा पोखरीको तस्बिर
प्रतिक्रिया