बाजुरा : नेकपा (एमाले) निकट युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले उपनिर्वाचन केन्द्रीत भेला गर्ने भएको छ । उपनिर्वाचनलाई स्वस्थ, भयरहित र मर्यादित बनाउनका लागि सहयोग गर्ने उद्देश्य सहित भेलाको आयोजना गर्न लागेको सचिव विष्न कार्कीले बताएका छन् ।
युवा संघले आगामी मंसिर १ गते जिल्ला स्तरीय युवा भेलाको आह्वान गरेको छ । उम्मेदवारको मनोनय दर्ता कार्यक्रमलाई हर्षउल्लासका साथ बनाउन र आफ्नो मातृ पार्टीको उम्मेदवार विजयी गराउने गरी भेलामा प्रशिक्षण समेत दिईने भएको छ ।
चुनावी रणनीति, चुनावी प्रचारप्रसार तथा युवा परिचालन योजना तयार गर्नका लागि युवाहरुको जगन्नाथ गाउँपालिका पिलुचौरमा भेलाको आयोजना गरिएको हो । सरकारले उपनिर्वाचनको घोषणासँगै बाजुरामा पनि चुनावी बहस सुरु भएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै छलफल, बहस र दलहरुबीचका आपसी परामर्शहरु बढेका छन् ।
काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जैशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरुले आफ्ना उम्मेदवार छनोटको कार्य थालनी गरेका छन् ।
नेकपा एमालेले सुलोचना कुमारी भण्डारी (बुढा) लाई एकल उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । भने नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
प्रतिक्रिया