गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:०३

ईमान र निष्ठाका साथ शैक्षिक गुणस्तर सुधारमा लागौं : उपाध्यक्ष थापा

जनप्रतिनिधि र प्रधानाध्यापकसंगको बैठक बस्यो
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ११, २०८१
ईमान र निष्ठाका साथ शैक्षिक गुणस्तर सुधारमा लागौं : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गाउँपालिकाकाे समग्र शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले ईमान र निष्ठाका साथ लाग्न सुझाव दिएकी छन् ।

शुक्रबार गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरु र प्रधानाध्यापकसंगको नियमित बैठकको सम्बोधन गर्दै थापाले यस्तो बताएकी हुन् ।

पालिकाको शैक्षिक गुणस्तर सुधार भएन भन्ने व्यापक टिकाटिप्पणीलाई आत्मसाथ गरेर सम्पूर्ण विद्यालयहरुले यसमा गम्भीर हुनुपर्नेमा जोड दिएकी छन् ।

स्थानीय सरकारका तर्फबाट भौतिक संरचना र अन्य व्यवस्थापनका विषय केही हदसम्म गरिएको स्मरण गराउदैं अब सबैको दिल, दिमाग र दृष्टिकोण शैक्षिक गुणस्तर सुधारमा जानुपर्ने बेला आएको उल्लेख गरेकी छन् ।

केही हदसम्म शैक्षिक गुणस्तर सुधार भएको भएपनि स्थानीय सरकारले लिएको लक्ष्य अनुसार सुधार हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरेकी हुन् ।

एउटै विद्यालयका प्रधानाध्यापकलाई मात्र दोष दिएर शैक्षिक गुणस्तर सुधार नहुने उल्लेख गर्दै यसमा सम्बन्धित सबै पक्षको जिम्मेवारी उत्तिकै हुने बताईन् ।

सरकारले हरेक पटक विभिन्न तालिम तथा अन्य क्रियाकलापमा शिक्षकहरुलाई सहभागी गराएर शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएको समेत स्मरण गराएकी हुन् ।

बैठकमा गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले जिम्मेवारीलाई आत्मसाथ नगर्ने प्रचलन रहेको बताएका छन् ।

आफ्नो लामो अनुभव शिक्षा क्षेत्रमा रहेको उल्लेख गर्दै भनाई र गराईमा फरक हुने भएपनि साच्चै अपनत्वको भावना साथ लागे शैक्षिक गुणस्तर सुधार हुने बताएका छन् ।

बैठकमा विद्यालयका प्रधानाध्यापकहरुले दैनिक विद्यालयमा सम्पादन गरेका क्रियाकलापको रिपोटिङ्ग गरेका थिए भने विद्यालयको अवस्था बारे जानकारी गरिएको थियो ।

शिक्षा युवा तथा खेलकुद विकास शाखाले आयोजना गरेको बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष प्रकाश रोकाया, देव बहादुर रोकाया, देवेन्द्र रोकाया, अमर विक लगायतको सहभागीता रहेको थियो ।

शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख राम नाथले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया