गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

कैलालीका किसानलाई धानको बिउ पाउनै मुस्किल

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १०, २०७९
कैलालीका किसानलाई धानको बिउ पाउनै मुस्किल

कमल सावद कैलालीका किसानलाई धानको बिउका लागि समस्या भएको छ। सात महिना अगाडि जिल्लामा आएको बाढीले धान बालीमा गरेको क्षतिका कारण किसानलाई बिउ राख्न समस्या भइरहेको हो। कैलालीमा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

त्यसका लागि तीन हजार पाँच सय क्वीन्टल धानको बिउ जिल्लाका किसानलाई आवश्यक हुन्छ। किसानसँग आवश्यकताको २० प्रतिशत बीउ मौज्दाज रहेको तथ्याँक प्रदेश सरकारको छ। बाँकी धानको बिउ किसानले खरिद गर्नुपर्ने छ। चैते धानबाट पनि बीउ उत्पादन हुनेछ। तर अन्य किसानहरु बीउका लागि भौतारिदै छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाका किसान दुर्गा चौधरीले धानको बीउ नपाएको बताए। ‘पाँच/छ सय बोरा चाहिएको छ। तर बीउ पाउनै मुस्किल भइरहेको छ,’ उनले भने।

कैलालीमा गत कात्तिकमा भित्र्याउने तयारी गरिएको धानमा बाढीले क्षति गरेको थियो। बाढीका कारण धान खेतमै कुहिएको थियो भने क्षति भएका किसानलाई सरकारले राहत अझै दिएको छैन। सरकारले बीउका लागि पनि पहल नगरेको किसानको गुनासो छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ का किसान बिष्णु चौधरीले धानको बीउ नपाएको बताए।

कैलालीमा संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत धान जोन कार्यक्रम, रानीजमरा सिँचाई आयोजनाको कृषि कार्यक्रम, प्रदेश सरकारको मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालनमा रहेका क्षेत्रका किसानलाई भने समस्या नहुने दाबी गरिएको छ।

अन्य क्षेत्रका किसानलाई पनि स्थानीय सरकारले धानको बीउ उपलब्ध गराउनुपर्ने माग गरिएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शार्माले स्थानीय तहले धानको बीउ दिनुपर्ने बताए। उनले साना किसान र ठूला किसानलाई धानको बीउको समस्या रहेको बताए। मझौला खालका किसानलाई समस्या नहुने उनले बताए। 

कैलालीका आधा किसानले सर्जु जातको धान रोप्दै आएका छन्। तर सरकारले पुुरानो भएको भन्दै सिफारीस गरेको छैन। जिल्लामा राधा चार, सावित्री, सुख्खा तीन लगायतका धानाको बीउ सिफारीस गरिएका छन्।

प्रतिक्रिया