गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

सुदूरपश्चिम प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ २८, २०८१
सुदूरपश्चिम प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो । भारी र धेरै भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ । शनिबार दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ ।

कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘भारी वर्षा’ भन्नाले २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरसम्म पानी परेकोलाई जनाउँछ । ‘धेरै भारी’ वर्षा भन्नाले २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी २०० मिलिमिटरभन्दा कम पानी परेको अवस्थालाई जनाउँछ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा पनि धेरै पानी पर्यो भने त्यो अवस्थालाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तयार पारेको मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली हेर्नुहोस् –

प्रतिक्रिया