गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२६
Dho

बडीमालिका नगरपालिकाद्धारा दर्ता नगरी अटो सञ्चालन गर्न रोक, भाँडादर समेत तोकियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २२, २०८१
बडीमालिका नगरपालिकाद्धारा दर्ता नगरी अटो सञ्चालन गर्न रोक, भाँडादर समेत तोकियो

बाजुरा : बडीमालिका नगरपालिकाले अटो पालिकामा अनिवार्य दर्ता गरेर मात्रै सञ्चालन गर्ने नीति लिएको छ । मनोमानी रुपमा अनुमति पत्र र इजाजत पत्र समेत नभएका अटोहरु सञ्चालन हुनेक्रम बढेपछि पालिकाले दर्ताका लागि अनिवार्य गरेको हो । 

पालिकाका प्रमुख उपप्रमुख सहीत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अटो व्यवसायी बीचको बैठकले पालिकामा अनिवार्य दर्ता गरिनु पर्ने, इजाजत पत्र र अनुमति पत्र अनिवार्य हुनु पर्ने निर्णय गरेको छ । अनुमति पत्र नभएको चालक र बडीमालिका नगरपालिकामा दर्ता नभएको अटो पालिका क्षेत्रमा सञ्चालन गर्न नदिने नगर प्रमुख अमर खड्काले बताएका छन् ।

बाजुराको इकडीदेखि मार्तडीसम्म अटो सञ्चालन भइरहेका छन् । बडीमालिका नगरपालिकाको मार्तडीदेखि हरहरेका खोलासम्म अटो सञ्चालन हुने गरेका छन् । दुर्घटनाको जोखिम बढेको, मनोमानी भाडा असुली भइरहेको र अनुमति नभएकै चालकहरुले चलाउने गरेको जनगुनासो पछि पालिकाले कडाइ गरेको हो ।

अटो पछिल्लो समय छोटो दुरीका यात्रुहरुका लागि निकै उपयोगी साधन बनेका छ । पालिकाले भाडा समेत तोकिदिएको छ । पालिकाले प्रतिकिलोमिटर १५ रुपैयाका दरले मार्तडीबाट १४ वटा स्थानको भाडा तोकेको छ । जस्मा मार्तडीदेखि चौराटीखेत ४५ रुपैया, सेलाघाटसम्म ५० रुपैया, सुवाकाँधसम्म ६० रुपैया, बाँसठानासम्म ७५ रुपैया भाडा तोकेको छ । 

यस्तै रापकसम्म ८० रुपैया, वीरेखोलासम्म ९० रुपैया, नुनेपानीसम्म १ सय ५ रुपैया, पानीनाउँलासम्म १ सय २० रुपैया, सिमलगौडासम्म १ सय ३५ रुपैया, जडांगा १ सय ४५ रुपैया, ओलेनासम्म १ सय १६० रुपैया, तिपाडासम्म १ सय ७५ रुपैया, चिनेचौरसम्म १ सय ८५ रुपैया र हडडे खोलासम्म २ सय रुपैया भाडा कायम गरेको छ । 

बडीमालिका सीमाक्षेत्र हडडेसम्म मात्रै हो । अटो व्यवसायीले निश्चित रकम पालिकालाई कर समेत बुझाउनु पर्ने छ । व्यवसायलाई व्यवस्थीत र कानुनी दायरामा ल्याउन पालिकामा दर्ता अनिवार्य गरिएको राजस्व शाखा प्रमुख कृष्ण खड्काले जानकारी दिएका छन् । बडीमालिका क्षेत्रमा मात्रै दर्जन बढी संख्यामा अटो चलिरहेका छन् । 

प्रतिक्रिया