गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०८, २०८१
तीज गीत आयो, आइनन् विष्णु माझी !

काठमाडौं : ‘बल्ल तीज आएझैं भो, प्यासीले पानी पाएझैं भो,’ गायक तथा संगीतकार बसन्त थापाको भनाइ हो यो । लामो समयदेखि सार्वजनिक जीवनबाट अलग भएकी चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएसँगै थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् ।

विष्णुको स्वरमा शनिबार बिहान ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीत माझीका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको हो । आशिष अविरलको संयोजनमा रागामा रेकर्डस्‌मा रेकर्ड गरिएको गीतको भिडियो सुन्दरमणिकै निर्देशनमा तयार पारिएको छ ।

मौसम हिमालीको कोरियोग्राफी र शम्भु चालिसेले छायांकन गरेको भिडियो प्रवीन भट्टले सम्पादन गरेका हुन् । भिडियोमा ललिता पौडेल माइत जान नपाएकी चेलीको भूमिकामा छिन् । पौडेल यसअघि माझीको चर्चित गीत ‘चरी जेलैमा’ को भिडियोमा थिइन् । गीतको भिडियोमा भने विष्णुलाई देख्न पाइँदैन ।

‘आइनँ आमा यो तीजमा’ गीत आइट्युन्स, अमेजन, स्पटिफाइ, एप्पल म्युजिक, टिडाल, साउन्डक्लाउड, अडियोम्याक लगायतका प्लेटफर्मममा समेत उपलब्ध रहेको उल्लेख गरिएको छ । ‘पुतलीको भट्टी’ भाग २० का रूपमा सार्वजनिक गीतमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देशसँगै वेदना समेटिएको छ ।

झन्डै १७ मिनेट लामो गीतका शब्द निकै सुझबुझपूर्ण तवरले बुनिएका छन् । ‘लाइछु, खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन’ गीतको एक अंश सुन्दा चेलीले खुसीसाथ आफ्नो घर गरेकी जस्तो लाग्छ । तर भिडिओमा भने उही चेलीको पीडा र वेदना देखाइएको छ ।

यसको अर्थ आफूले रोएरै जीवन बाँचे पनि आमालाई पीर नपरोस् भन्ने सन्देश दिइएको छ । सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमा सार्वजनिक गीतले १२ घन्टामा नै आठ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । गीतमा ९ हजारभन्दा बढीले त प्रतिक्रिया नै जनाइसकेका छन्, ती पनि लगभग सबै सकारात्मक । अधिकांश दर्शकश्राेता गायक थापाकै भनाइमा सहमत देखिन्छन् । विष्णुको स्वरको गीत सुन्न नपाएसम्म तीज आएको जस्तो नै नलाग्ने उनीहरूको भनाइ छ ।

पछिल्लो समय तीज गीतका नाममा विकृति फैलाइएको भन्दै कतिपय गायक/गायिकाको आलोचना हुने गरेको छ । यस क्षेत्रका स्रष्टाहरूले मात्र होइन, सामाजिक सञ्जालहरूमा दर्शकश्राेताले समेत केही गीतका शब्द र भिडियोको चर्को आलोचना गरेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि केही गायक/गायिकालाई सदस्यबाट निलम्बनसमेत गरेको छ ।

आफूले गाएको गीतको आलोचना भएपछि लोकप्रिय गायिका शान्तिश्री परियारले विज्ञप्ति जारी गर्दै आगामी दिनमा शब्द र संगीत छनोट गरेर मात्र गीत गाउने बताएकी थिइन् । तीज गीत बताइएको ‘विस्ताराले पोल्यो’ को निकै आलोचना भएपछि शान्तिश्रीले दर्शकश्राेतासँग माफीसमेत मागेकी थिइन् ।

उनले उक्त गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधाअन्तर्गतको नभए पनि गीतका कारण दर्शकश्राेताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेकाले आगामी दिनमा शब्द, संगीत छनोट गरेर मात्र गाउने वाचा गरेकी थिइन् । तर शनिबार सार्वजनिक विष्णुको स्वरको गीतले भने सबैतिरबाट प्रशंसा बटुलेको छ । लोकदोहोरी तथा गायन क्षेत्रमा क्रियाशील स्रष्टाले गीतको तारिफ गर्दै सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।

तीनैमध्येका एक हुन्– गीतकार राजेन्द्र थापा । ‘तीज भनेर अर्कै चिज छरिरहेको समयमा अचानक गरम मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे पानी परेको छ । एक वर्षाले सबै पखालेर लगेको छ,’ फेसबुकमा उनले लेखेका छन् । त्यस्तै, गायक शिरीष देवकोटाले ‘पुनः उकृष्ट गीत बनेको’ उल्लेख गरेका छन् । गायक कुलेन्द्र विश्वकर्मा, गायिका लक्ष्मी न्यौपानेलगायतले पनि गीतको प्रशंसा गरेका छन् ।

विष्णुको स्वरमा तीन वर्षअघि सार्वजनिक गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ निकै चर्चित भएको थियो । ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गीतको हालसम्मको भ्यूज ५ करोड ३० लाखभन्दा बढी छ । त्यसो त उनले गाएका आधा दर्जनभन्दा बढी गीत ‘करोड क्लब’ मा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका माझीको स्वरका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

तर पनि ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतले अत्यधिक चर्चा बटुल्नुका कारण उनको जीवनशैली पनि हो । गीतलाई गायिका विष्णुकै जीवनसँग जोडेर पनि विभिन्न अनुमानहरू गरिएका थिए । कतिपयले त विष्णु नै उनका पतिको ‘जेलमा’ रहेको बताएका थिए । गायन यात्रामा सफलताको उकालो चढ्न थालेदेखि नै विष्णु सार्वजनिक जीवनमा देखिएकी छैनन् ।

त्यसयता उनी गीत रेकर्ड गर्न सुन्दरमणिका साथमा रातको समयमा स्टुडियो जाने गरेकी छिन् । सामाजिक सञ्जालमा कतै छैनन्, केही पुराना तस्बिर मात्र सार्वजनिक छन् । सार्वजनिक जीवनबाट ‘गुमनाम’ भएपछि ६ वर्षअघि उनको खोजी भएको थियो । 

पछिल्लो गीत चर्चामा आएपछि फेरि उनको खोजी हुन थालेको छ । गीतमा प्रतिक्रिया दिने कतिपयले त उनको सार्वजनिक जीवनका विषयमा पनि प्रश्न गरेका छन् । अघिल्लो वर्षको चर्चित गीत ‘जेलैमा हो, जेलैमा’ को सन्दर्भ उठाउँदै सीताराम सापकोटाले लेखेका छन्, ‘चरी पक्कै जेलमा छिन् । तर बेलाबेलामा चिरबिर गरेको सुनिन्छ ।

त्यही चरीको आवाज यति धेरै प्यारो लाग्छ ।’ त्यससँगै माझी सार्वजनिक जीवनमा आउनुपर्ने पक्षमा पनि आवाज उठेको छ । ‘विष्णु माझी अब लाखौं दर्शकहरूमाझ सार्वजनिक हुनुपर्छ भन्ने जति हाजिर हौं,’ भीम साउदले गीतको ‘कमेन्ट सेक्सन’मा लेखेका छन् ।

गायक तथा संगीतकार बसन्त थापाले फेसबुकमा लेखेका छन्, ‘सफलताको शुभकामना सुन्दरमणि दाइ ! हीरा लुकाएर किरालाई मौका मिलेको छ, तिम्रो बुद्धि फिरोस्, कामना !’ थापाले भने जस्तै उनको बुद्धि कहिले फिर्ला र विष्णु फेरि गीतका भिडियोहरूमा आउलिन्, त्यो भने सुन्दरमणिमै भर पर्छ । कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया