गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१३
Dho

बाजुराका कार्की हरिद्वारबाट २९ दिनको पैदल हिँडेर पशुपतिनाथ मन्दिर पुगे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
बाजुराका कार्की हरिद्वारबाट २९ दिनको पैदल हिँडेर पशुपतिनाथ मन्दिर पुगे

बाजुरा : बाजुरा घर भइ हाल भारतको पिथौडागढ बस्दै आएका चन्दु कार्की २९ औं दिनमा पशुपतिनाथको मन्दिरमा पुगेका छन् ।

२६ वर्षका कार्की हरिद्वारबाट जल बोकेर पशुपतिसम्म पैदल हिँडेर पुगेका हुन् । आज ३०औं दिनमा पशुपतिमा आफूले बोकेर ल्याएको जल चढाएको उनले बताए ।

‘हिजो राति १० बजे पुगेकाले आज बिहानै जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने ।

बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बितेको थियो । उनका बुवाआमाले सानैमा भारत लगेकाले उनी उतै हुर्किए, उतै पढे । उनले अलमोडा विद्यालयबाट स्तातक पास गरेका छन् ।

त्यसपछि उनले भारतको दिल्लीस्थित जनपुरीमा एक बैंकमा काम गरे । सानैदेखि यात्रा गर्ने तथा आफ्नो धर्मसंस्कृति जोगाउने रुचि भएका उनी धेरै समय जागिरमा टिक्न सकेनन् । ६ महिना बैंकमा जागिर गरेपछि अन्ततः उनले आफ्नो धोकोलाई अगाडि बढाउने निधो गरे ।

सुरुवातमा उनले ११ महिनासम्म पैदल यात्रा गरेर पूरै भारतको भ्रमण गरे । उनले हिमाञ्चल र उत्तराखण्डको भने पूरै भू–भाग हिँडेर घुमेका छन् ।

त्यसपछि भने उनलाई आफ्ना मातृभूमि नेपालमा पनि घुम्ने रहर लाग्यो । त्यसका लागि उनले भारतको हरिद्वारबाट जल लगेर पशुपतिनाथको मन्दीरमा अर्पण गर्ने लक्ष्य लिए ।

सुरुमा त परिवारले उनलाई त्यसका लागि अनुमति दिएन । तर, धेरै प्रयास गरेपछि उनी परिवारको मञ्जुरी लिन सफल भएका थिए । त्यसपछि हरिद्वारबाट २ लोटा जल बोकेर उनी ३० दिनअघि त्यहाँबाट हिँडेका थिए ।

उनी एउटा झोला, सुत्नलाई म्याट, लठ्ठी र २ लोटा जल बोकेर हिँडेका थिए । आफूलाई शिवको भक्त बताउने उनले धर्म संरक्षणका लागि यो कार्य गरेको बताएका छन् ।

उनले नेपालीहरुबाट राम्रो साथ पाइरहेको बताएका छन् । ‘यहाँ एकदमै साथ सहयोग पाइएको छ । खानपान र बसोबासको हुन्छ ।

जोखिमयुक्त स्थान जस्तै बाटोमा पर्ने जंगल तथा निकुञ्ज सुरक्षाकर्मीको सहयोगबाट पार गर्छु । त्यसैले अब एक महिना नेपालमा पैदल यात्रा गर्ने योजना बनाएको छुँ’ उनले भने ।

प्रतिक्रिया