गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा औपचारिक रुपमा आरम्भ, बाजुराबाट सरकारी टोली प्रस्थान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा औपचारिक रुपमा आरम्भ, बाजुराबाट सरकारी टोली प्रस्थान

बाजुरा : धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि  धार्मिक तीर्थयात्रा सुरु भएको छ । 

दुबै शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयाैको संख्यामा तीर्थयात्राहरु केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहीबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले बताएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका पठाएको छ । 

नगर उप-प्रमुख नन्दा कुमारी थापाकाे नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थात गरेको हो । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहीत बडीमालिका यात्रा जाने गरेको थियो । 

बाजाजागा सहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाहरुले सरकारी टोलीको विदाई गरेका हुन् । मार्तडी स्थित मालिका मन्दिरमा पुगेर विदाई गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । नगर प्रमुख खड्का सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहितको टोलीले विदाई गरेको हो । 

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरी प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई औपचारिक रुपमा विदाई गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । 

बाजुराका बडीमालिका र बुढीनन्दालाई धार्मीक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक, जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ली, सम्भुसुनन्दा, जुल्ठ्या सहीतका दर्जनबढी धार्मीक शक्तिकेन्द्रमा पनि एकसाथ पुजा लाग्ने गरेको छ । 

मानेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ  धार्मिक शक्ति केन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्ला सहित देशभरिबाट भक्तजनक आउने गरेका छन् । भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् । 

सत्ययुगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मीक विश्वासका आधारमा पुजापाठ गर्ने गरिएको छ । 

बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको छ । धार्मीक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालेको भएपनि बडीमालिका र बुढीनन्दा बढी चर्चा र विख्यात रुपमा चिनिएको बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताएका छन् । 

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन्।   

बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायको भनाई रहेकाे छ ।

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगीसकेको छ । बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनुपर्ने चलन रहेको छ । 

बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरिएको छ। ‘बडीमालिका मन्दिर’ चार हजार २१६ मिटर उचाइमा रहेको छ । बडीमालिका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । विभिन्न जिल्लाबाट हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन्।

धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन्। बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ । 

बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ले, भण्डारथुम, शम्भुसुनन्दा, चुल्ठ्या सहितका दर्जन बढी धार्मिक शक्तिकेन्द्रमा पनि एकसाथ  पूजा लाग्ने गरेको छ ।

प्रतिक्रिया