गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२५
Dho

बजेट शून्यताको बेला मुख्यमन्त्री बनेका शाहको अग्नी परीक्षा सुरु

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
बजेट शून्यताको बेला मुख्यमन्त्री बनेका शाहको अग्नी परीक्षा सुरु

धनगढी : नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन्। पहिले भन्दा थप शक्तिशाली बनेर सत्तामा फर्किएका शाहले शपथ ग्रहणकै दिन सरकारलाई पूर्णता दिन सफल भएका छन्।

सरकारमा तीन राज्यमन्त्रीसहित ६ मन्त्रीले सोमवार नै शपथ ग्रहण गरेका छन्। नेकपा एमाले र नागरिक उन्मुक्तिको समर्थनमा शाह मुख्यमन्त्री बने पनि बजेट शून्यताको कारण सरकारको कार्यसम्पादन कस्तो हुन्छ भन्ने कुरा भविष्यकै गर्भमा छ।

चालु आर्थिक वर्षका लागि बजेट पारित नहुँदा नयाँ सरकारलाई काम गर्न अफ्ठ्यारो पर्ने देखिएको छ। तर, मुख्यमन्त्री शाहले सल्लाह गरेर बजेट शून्यताको अवस्थाबाट पार पाउने दाबी गरेका छन्।

शपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले बजेट शून्यताको अवस्थालाई सहजै किनारा लगाउने तर्क गरेका छन्। विज्ञहरूसँग छलफल गरेर उपयुक्त निकास निकालिने उनको भनाई छ।

विशेष अधिवेशनलाई तत्काल अन्त्य गरेर बजेट शून्यताको अवस्थालाई सम्बोधन गर्ने मुख्यमन्त्री शाहले बताएका छन्। अधिवेशन बोलाएर बजेट ल्याउने र अहिलेको अवस्थाको अन्त्य गरिने उनले बताए। तर, के चाहिँ गर्ने भन्ने बारेमा विज्ञसँगको परामर्श नै अर्थपूर्ण हुने संकेत मुख्यमन्त्रीले गरेका छन्।

पाँचौ मुख्यमन्त्रीको रुपमा शाहलाई सत्तारूढ दलहरूसँग तालमेल मिलाउन के–कस्तो सहज÷असहज अवस्था आउँछ त्यो विषयमा अहिले नै केही भन्न नसक्ने अवस्था भए पनि हिजो बजेट पारित गर्न असहयोग गरेको कुरा नै प्रत्युत्पादक पो हुन्छ कि भन्ने आशंका गरिएको छ।

तर सरकारले अर्को बजेट ल्याएर अहिलेको घाटा परिपूर्ति गर्नुपर्ने अर्थशास्त्री शिवहरि शर्मा मुडभरीले बताएका छन्। उनले एक महिना बजेट शून्यताको अवस्था रहेकाले अब बाँकी ११ महिनाका लागि नयाँ सरकारले बजेट ल्याउने र राजनीतिक निर्णयबाट अहिलेको समस्या हल गर्न सकिने बताए।

बजेट पारित नहुँदा प्रदेशभित्र राजस्व संकलनको काम ठप्प छ। सरकारले आम्दानी र भुक्तानी गर्न समस्या भएको अवस्थामा मुख्यमन्त्री शाहले विद्यमान बजेट शून्यताको अवस्थालाई सहजै पार लगाउन सक्ने राजनीतिक वृतमा समेत अनुमान गरिएको छ। मुख्यमन्त्री शाहले शपथ ग्रहणसँगै बजेटमाथि काम गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया