गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

सुदूरपश्चिममा १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुदूरपश्चिममा १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

धनगढी : सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ। विषयगत मन्त्रालयसहित तीन राज्यमन्त्री समेत नियुक्त हुँदा १० सदस्यीय मन्त्रिपरिषद् बनेको हो। आइतबार नियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ। यसपटक सबै मन्त्रालय र राज्यमन्त्रीसहित भागबन्डा मिलाएर आफूसँगै शपथ गराउन मुख्यमन्त्री शाह सफल भएका छन्।

सुदूरपश्चिममा यसपटक नेपाली काँग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन्। साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन्।

 आर्थिक मामिला काँग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले पाएका छन्। नेपाली काँग्रेसले आर्थिक मामिला मन्त्रालयमा कञ्चनपुरका बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का नियुक्त गरेको छ भने कैलालीका प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र डडेल्धुराकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

त्यस्तै नेकपा एमालेबाट बैतडीका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा कञ्चनपुरका वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरकै हिरा सार्की नियुक्त भएका छन्। डोटीकी निर्मला साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी कैलालीका हुन्।

प्रतिक्रिया