गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१७
Dho

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा सहभागी नहुने तयारीमा कांग्रेस-एमाले

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा सहभागी नहुने तयारीमा कांग्रेस-एमाले

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने बैठकमा सहभागी नहुने तयारी गरेका छन् । विशेष अधिवेशन बहिष्कार गरेका मुख्यमन्त्री सोडारीले आफूलाई आवश्यक पर्दा बैठकमा सहभागी हुन खोजेको भन्दै दुवै दलले बैठकमा सहभागी नहुने बताएका हुन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीले बाढी, पहिरोबाट प्रभावित भएका प्रदेशबासीका समस्या सुन्न बैठकमा मुख्यमन्त्री नआएको बैठकमा सहभागी मन्त्रीलाई बर्खास्त गर्नेजस्ता काम गरेकाले विश्वासको मत लिने बैठक सहभागी नहुने बताए ।

कांग्रेसका एक प्रदेश सभा सदस्यले पनि बैठकमा सहभागी नहुने सल्लाह भएको जानकारी दिए । कांग्रेस र एमालेले बैठक बहिष्कार गरे आफूहरु पनि बैठकमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

प्रतिपक्षी दल बैठकमा सहभागी नहुने भएपछि मुख्यमन्त्री सोडारीले उनीहरूलाई मनाउने प्रयास जारी राखेका छन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका दल नेता घनश्याम चौधरीलाई टेलिफोन गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।

जवाफमा उनीहरूले बैठकमा सहभागी हुन नसकिने भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिए । विश्वासको मत प्रयोजनका लागि मुख्यमन्त्रीको प्रस्तावमा  आज प्रदेश सभा बैठक बोलाइएको छ । संघमा कांग्रेस र एमालेसहितको गठबन्धन बनेपछि २० असारमा एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो ।

एमाले बाहिरिएपछि अल्पमतमा परेका सोडारीले चालु वर्षको बजेट पारित गराउन सकेनन् भने प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेर अध्यायदेशमार्फत बजेट ल्याउन खोजेका थिए । प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन अन्त्य गर्दै कांग्रेस र एमालेका एक चौथाइ सांसदको मागबमोजिम ८ साउनमा प्रदेशसभाको विशेष अधिवेशन बोलाएका थिए ।

प्रतिक्रिया