गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

सुदूरपश्चिममा ९ दिनमा विपदबाट ७५ परिवार प्रभावित, ९ घरमा पूर्ण क्षति

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ११, २०८१
सुदूरपश्चिममा ९ दिनमा विपदबाट ७५ परिवार प्रभावित, ९ घरमा पूर्ण क्षति

धनगढी : सुदूरपश्चिममा विपदका घटनाबाट ९ दिनमा ७५ परिवार प्रभावित बन्न पुगेका छन्। आगलागी, जनावर आंतक, बाढी, पहिरो, चट्याङ र भारी वर्षाका कारण सो अवधिसम्म झण्डै ७ लाखको नोक्सानी भएको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको साउन महिना सुरु भएयता आगलागीका चार घटना घटेका छन्। यसबाट चार परिवार प्रभावित बन्न पुगेका छन्। आगलागीबाट २ लाख ६० हजारको नोक्सानी भएको अनुमान गरिएको छ।

साउन ६ गते राति धनगढीमा रहेको बाबा बिजुली भण्डारमा आगलागी भएको थियो। धनगढी चौराहमा रहेको बाबा बिजुली भण्डारको गोदाममा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो। 

उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको थियो। आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

चट्याङको एउटा घटना घटे पनि कुनै मानवीय र आर्थिक क्षति भने भएको छैन्। बाढी सम्वन्धि तीनवटा घटना भएका छन्। बाढीमा परेर एक महिलाको मृत्यु नै भएको छ। यसबाट २३ परिवार प्रभावित बन्न पुगेका छन्। 

जनावर आंतकबाट एक पुरुष र पहिरोबाट २ पुरुष र एक महिला घाइते भएका छन्। पहिरोबाट २८ परिवार प्रभावित बन्न पुगेका छन्। पहिरोबाट एक घर आंशिक र एक घर पूर्ण रुपमा क्षति भएको छ।

यसबाट एक लाख ३५ हजारको नोक्सानी भएको अनुमान गरिएको छ। त्यस्तै भारी वर्षाबाट २६ परिवार प्रभावित भएका छन भने चार घर आंशिक र ८ घरमा पूर्ण क्षति भएको छ। 

यसबाट तीन लाखको नोक्सानी भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। साउन ९ गतेसम्म विपदका ३२ घटना घटेका छन्।

यसबाट ७५ परिवार प्रभावित भएका छन्। ९ घरमा पूर्ण क्षति पुगेको छ। ६ लाख ९५ हजारको धनमाल नष्ट भएको केन्द्रको अनुमान छ। वर्षाले डडेल्धुरामा एक घर भत्किएको छ।

अविरल वर्षाका कारण जिल्लाको नवदुर्गा गाउँपालिका–५ टाकस्थित हरमतिदेवी विकको दुई तले चार कोठे घर भत्किएको हो। घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया