गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०४
Dho

बझाङबाट उदाएकी सम्झनाको एसिया कपमा ऐतिहासिक अर्धशतक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ०५, २०८१
बझाङबाट उदाएकी सम्झनाको एसिया कपमा ऐतिहासिक अर्धशतक

बाजुरा : श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन्।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक हो। यूएईले दिएको एक सय १६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन्।

यस क्रममा उनले आठवटा चौका पनि प्रहार गरिन्। २४ वर्षीया सम्झनाका लागि यो १७औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो।

महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो। यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५० रनभन्दा मुनि नै खुम्चिएको थियो नेपाल। यस्तो स्थितिमा खेलाडीको व्यक्तिगत स्कोरले अर्धशतक पार गर्नु त झनै टाढाको विषय थियो।

सन् २०१२ मा श्रीलंकाविरुद्ध एसिया कपको पहिलो खेलमा ५८ र २०१६ मा थाइल्यान्डविरुद्ध ६३ रनको स्कोर नै नेपालले बनाएको यसअघिको उच्च स्कोर हो। सम्झना खड्काले यी सबै इतिहास भुलाउँदै शुक्रबार श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अविजित ७२ रन बनाइन्। उनको प्रयासमा नेपालले एसिया कपको इतिहासमै पहिलो जित निकालेको हो। सम्झनाको इनिङ्स नेपाली महिला खेलाडीको एसिया कपमा पहिलो अर्धशतक हो।

सम्झनाले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएकी हुन्। गत वर्ष हङकङविरुद्ध मलेसियामा एसीसी प्रिमियर कपमा अविजित ३६ रन बनाउनु उनको यसअघिको उच्च स्कोर थियो। क्यानले सम्झनालाई २०८० जेठमा मलेसियाविरुद्धको टी–ट्वेन्टी क्रिकेट शृंखलाका लागि पहिलो पटक नेपाली राष्ट्रिय महिला टोलीमा राखेको थियो। त्यसबेला उनीसहित नेपाली टोलीमा ३ नयाँ अनुहारले अवसर पाएका थिए। त्यसअघि सुदूरपश्चिमबाट खेल्दै सम्झनाले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन्।

सुदूरपश्चिममा लोभलाग्दो प्रदर्शन गरेपछि राष्ट्रिय टोलीको यात्रा तय गरेकी उनको पछिल्लो प्रदर्शन भने निराशाजनक थियो। उनले ६ खेलमा रनको खाता नै खोल्न सकेकी थिइनन्। टोलीमा परेर पनि उनले तीन खेलमा ब्याटिङको मौका पाइनन्। बाँकी तीनमा पनि रन बटुल्न नसकेपछि उनी निराश थिइन्। उनले सन् २०२३ नोभेम्बरमा हङकङविरुद्ध ब्याटिङ गर्दा १ रन मात्रै जोडेकी थिइन्। त्यसपछि सन् २०२४ फेब्रुअरीमा हङकङविरुद्धको खेलमा उनले ब्याटिङ अवसर पाइनन्। खराब लयबाट गुज्रिए पनि राष्ट्रिय टोलीले उनलाई एसीसी वुमन्स एसिया कपको टोलीमा राखेर पठाएको थियो।

यसअघिका खेलमा मध्यक्रममा आउने उनी टिक्न सकेकी थिइनन्। तर यसपटक यूएईविरुद्धको खेलमा उनले ओपनिङमा उत्रिएर आफूलाई सावित गरिन्। यसका साथै यसअघिका निराशा र कयौँ आरोपलाई पनि उनले एकै खेलबाट उत्तर दिने गरी ऐतिहासिक प्रदर्शन गरिन्। सन् २०२३ मेमा मलेसियाविरुद्ध उत्रिँदै उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। तर यसबिचमा महिला टोलीले खेलेका १६ प्रतिस्पर्धामध्ये ११ वटामा ब्याटिङका लागि उत्रिँदा निराशा सहनु परेको थियो। उनले केबल २ खेलमा मात्रै १० भन्दा बढी रन बनाइन्। तर पनि कोच र कप्तानले निरन्तर गरेको विश्वासलाई उनले शुक्रबार प्रमाणित गरेकी छन्।

सम्झनाको जन्मथलो बझाङ हो। जहाँ क्रिकेट खेल्नका लागि गतिलो चौरसमेत छैन्। पहाडी र जटिल हिमाली भूगोल भएको बझाङमा क्रिकेट मैदान हुने त कुरै भएन। क्रिकेट मैदान या चौर भए पनि किशोरीहरूले क्रिकेट खेल्ने साथी पाउन मुस्किल छ। क्रिकेट खेल्ने एउटा राम्रो चौरसमेत भेट्टाउन मु्स्किल पर्ने जिल्लाबाट उदाएकी सम्झनाले शुक्रबार देशका लागि ऐतिहासिक जित दिलाएकी छन्।

सम्झनाको यो प्रदर्शनलाई लिएर उनका जिल्लाबासीले खुसी व्यक्त गरिरहेका छन्। बझाङकै एमाले नेता ऐन महरले क्रिकेट खेल्ने चौरसमेत भेट्न मुस्किल पर्ने अवस्थाबाट उठेर देशका लागि ऐतिहासिक प्रदर्शन गरेकोमा खुसी व्यक्त गरेका छन्। टोलीका अन्य खेलाडीहरूले ११ रन जोड्न नसकिरहेका बेला ११ चौकासहित ७२ रन जोड्दै देशलाई जिताएकोमा धेरैले खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया