गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३७
Dho

सुदूरपश्चिमको बजेट पास नगर्न नयाँ गठबन्धनको चेतावनी

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ३०, २०८१
सुदूरपश्चिमको बजेट पास नगर्न नयाँ गठबन्धनको चेतावनी

धनगढीः नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठन गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री सोडारीले राजिनामा दिने संकेत नगर्दा नयाँ गठबन्धनमा आबद्ध नेताहरूले यस्तो आग्रह गरेका हुन्।

नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारको विपक्षमा छन्। मुख्यमन्त्रीलाई बजेट पास गर्न चलखेल नगर्न समेत चेतावनी दिएका छन्।

अल्पमतमा परेको सरकारले दीर्घकालीन महत्वका कामकारबाही गर्न नहुने भन्दै राजीनामा दिन नयाँ गठबन्धनमा आबद्ध दलहरुले दबाब नै दिएका छन्।
‘अध्यादेश ल्याएर बजेट पास गर्न पाइन्न’
नेकपा एमालेले दिएको समर्थन फिर्तासँगै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन बाध्य बनाउन काँग्रेस–एमाले–नागरिक उन्मुक्तिले दबाब बढाएका छन्।

शनिवार पत्रकार सम्मेलन गर्दै नयाँ गठबन्धनमा आबद्ध नेताहरूले मुख्यमन्त्री सोडारीलाई तत्काल राजीनामा दिन दबाब दिएका हुन्।

अल्पमतमा परेको सरकारले बहुमत पुगाउने कुनै उपाय नभएको अवस्थामा राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्नुपर्ने नेताहरूले बताएका छन्।

सदन बन्द गरेर अध्यादेश मार्फत बजेट पारित गर्ने बाटो खोज्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए। उनले अध्यादेश ल्याएर बजेट पास गर्ने चलखेल गर्ननहुने बताए।

‘अहिले पनि सदन नचलाएर अध्यादेश मार्फत बजेट पास गर्ने जुन कुरा सोच्दै हुनुहुन्छ त्यो उहाँको दिवास्वप्न हो’, उनले भने, ‘सरकार स्पष्ट अल्पमतमा परेको छ। अल्पमतमा परेपछि मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्नुपर्छ।’ 
जबरजस्ती बजेट पास गर्न पाइन्नः शाह
नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन्। बजेटमा छलफल र पास गर्न समेत नसक्ने सरकारले राजीनामा दिनुपर्ने नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताए।

उनले बजेट संसदमा छलफल हुने अवस्थासम्म नभएको अवस्थामा कार्यान्वयनका लागि पारित गर्न चलखेल हुनु अचम्मको विषय भएको बताए।

‘बजेट पारित हुने अवस्था छैन, संसदमा छलफल पनि भएको छैन तर बजेट पारित गर्न चलखेल गर्न थालिएको छ।’ उनले भने, ‘जबरजस्ती ढङ्गले बजेट पास गराउने, बजेट कार्यान्वयन गर्नतिर सरकार जाँदै छ। हामी छिटोभन्दा छिटो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दछौँ।’
अल्पमतको सरकारले दम्भ देखाउन मिल्दैनः थापा
सरकारले बहुमत छँदा बजेटमाथिको छलफल टारेको तर बहुमत गुमाएपछि छलेर पारित गर्न खोजेको एमाले संसदीय दलकी उप–नेता सन्तोष शर्मा थापाले बताइन्। उनले अल्मतमको सरकारले ठुला निर्णय गर्न नसक्ने भन्दै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएकी छन्।

‘अल्पमतमा परेका मुख्यमन्त्रीले आफ्ना कामकारबाही अगाडि बढाउँछु भन्ने दम्भ देखाउँदै हुनुहुन्छ; यो सरासर गलत हो।’ उनले भनिन्, ‘अल्पमतमा परेको सरकारले नैतिक जिम्मेवारी लिँदै अर्को सरकार गठन गर्न मार्गप्रशस्त गर्नुपर्छ।’
सरकारको धारणा भोलि आउने
प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट पास गर्न नहुने नयाँ गठबन्धनमा आबद्ध नेताहरूले बताए पनि के गर्ने भन्ने विषयमा सरकारले भने टुङ्गो लगाउन सकेको छैन।

आइतवार मन्त्रिपरिषद्को बैठक बस्ने र उपयुक्त निर्णय लिइने मुख्यमन्त्री सोडारीले बताएका छन्। उनले आइतवार मन्त्रिपरिषद्को बैठकमा छलफल र सल्लाह गरेर उपयुक्त निर्णय गर्ने बताए। केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि काँग्रेस, एमाले र नागरिक उन्मुक्तिको गठबन्धन बनेको हो।

प्रतिक्रिया