गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार २६, २०८१
बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बाजुरा : बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ बाजुुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित एक समारोहमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिईने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

१३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरुले लगाएपछि जिल्लालाई प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको छ ।

समारोहमा बोल्दैं जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले विगत जस्तो वर्तमान नभएका कारण सबै नागरिकहरुले आफ्ना बालबाललिकाहरुलाई खोप लगाउनबाट छुटाउन नहुनेमा जोड दिएका छन् ।

स्वास्थ्य र शिक्षा संवेदनशील भएका कारण यसमा सबैले गम्भीर हुन आग्रह गरेका छन् । जिल्ला खोप समन्वय समिति संयोजक समेत रहेका रोकायाले स्थानीय सरकारहरुले स्वास्थ्य क्षेत्रमा राम्रो भूमिका खेलेको प्रति धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित छन् भन्ने अवस्था सिर्जना नगर्न अपिल गरेका छन् । निरन्तर खोपका कार्यक्रम सञ्चालन गरी जिल्लाको सन्देश राम्रो प्रवाह गर्न समेत अनुरोध गरेका छन् ।

जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरी, सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरदत्त तिवारी, नेपाली सेनाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका अध्यक्ष छक्क मल्ल लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालयको हलमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन प्रशान्तराज जोशीले गरेका थिए ।

प्रतिक्रिया