गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५०
Dho

बुढीगंगा नगरपालिकामा कालोपत्रे गर्ने सडकको निर्माण कार्य तीव्र

आगामी ०८२ असार मसान्तभित्र निर्माण सम्झौता
बाजुरा
रमित वि.क.
सोमबार, असार ०४, २०८१
बुढीगंगा नगरपालिकामा कालोपत्रे गर्ने सडकको निर्माण कार्य तीव्र

बाजुरा : बुढीगंगा नगरपालिकामा कालोपत्रे गर्ने सडकहरुको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । बाम्का बजार देखि पालिका केन्द्रसम्म ढलान कार्य तीव्र रुपमा भईरहेको छ । करिव ३ किलोमिटर सडक ढलान गरिने भएको छ ।

८ करोड ५५ लाख ३४ हजार भ्याट सहित महागौरी हण्डित दीप जे.भी. कम्पनीले निर्माण गरिरहेको छ । जे.भी. का आधिकारिक प्रतिनिधि हिरा रोकायाका अनुसार ०८२ असार मसान्तसम्म निर्माण गर्ने गरी सम्झौता भएको बर्ताएका छन् ।

अहिले सडक निर्माण कार्य तीव्र रुपमा जारी रहेको छ । सडकको करिव ३० प्रतिशत निर्माण कार्य सकिएको छ । बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे गर्ने गरी कार्य तीव्र गतिमा सुरु गरेको छ ।

पालिकामा नयाँ नेतृत्व आएसंगै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो । वडा कार्यालय जोड्ने सडकलाई कालोपत्रे गर्न लागिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

बजेटका लागि संघ र प्रदेश सरकारकै मुख ताक्ने र उनीहरूकै भरपर्दा कालोपत्र गर्ने काम अनिश्चित हुने देखिएपछि आफ्नै लगानीमा सडक कालोपत्रे गर्ने कार्य द्रुत गतिमा चलेको बताए ।

पालिकामा आउने बजेट हाललाई संघीय अनुदान नै भए पनि पूर्वाधार विकास अन्तर्गत पालिका जोड्ने सडकलाई सहज बनाउन कालोपत्रे गर्न लागिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।

कालोपत्रेका लागि विनियोजित बजेटमध्ये केही स्रोत नगरपालिकाको आन्तरिक पनि रहने बताईएको छ । तीन वटा रणनीतिक सडक कालोपत्रे गरिने भएको छ । बेतालमाडौंदेखि त्रिशक्ती मावि हुँदै जुवापानीसम्म कालोपत्रे सडकमा ९ करोड १३ लाख २५ हजार रकम रहेको छ ।

दोस्रो ताँप्रीसेरादेखि नडाग सम्मको सडक कालोपत्रे गर्न ११ करोड ३२ लाख ७८ हजार बजेट सहित सडक निर्माण कार्य भईरहेको छन् । यो सडकले २ र ३ नम्बर वडालाई छुनेछ ।

दुबै सडकमा ५/५ किलोमिटर कालोपत्रे गर्ने तय गरिएको छ । दुबै सडक निर्माणको जिम्मा बङ्लामुखी जे.भी.निर्माण सेवाले लिएको छ । दुबै सडक कालोपत्रे गर्न बुढीगंगाले २० करोड रूपैयाँ खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

आगामी ०८२ असार मसान्तभित्र दुई वटै ग्रामीण सडक करिब ५/५ किलोमिटर पक्की बनाउने गरी काम तीव्र जारी रहेको नगरपालिकाका इन्जिनियर उपेन्द्र साउँदले बताएका छन् । कामको प्रत्यक्ष निगरानी नगरपालिकाले गरिरहेको छ । बुढीगंगा नगरपालिकाले निर्णयको शीघ्र रुपमा विलम्ब नगरी कार्यहरु अघि बढाईरहेको छ ।   

प्रतिक्रिया