गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३०
Dho

प्रचण्ड नेतृत्वको सरकार जनताको पक्षमा भन्दा सत्ता बचाउने काममा लाग्याे : काँग्रेस नेता शर्मा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १४, २०८१
प्रचण्ड नेतृत्वको सरकार जनताको पक्षमा भन्दा सत्ता बचाउने काममा लाग्याे  : काँग्रेस नेता शर्मा

बाजुरा : नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधी सभा सदस्य डा. सुनिल शर्माले वर्तमान सरकार जनजीवीकाका सवालमा गैर जिम्मेवार बनेको आरोप लगाएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनताको पक्षमा भन्दा सत्ता बचाउने काममा लागेको शर्माको आरोप रहेको छ ।

सत्ता फेरबदलको महिना दिनमै काँग्रेस नेता शर्माले आक्रोशपूर्ण अभिव्यक्ति सहित सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् ।  

एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले मार्तडीमा पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको कडा विरोध गरेका छन् ।

सत्ता बचाउनु प्रमुख उद्देश्य राखेर चलिरहेको सरकारले जनताका पक्षमा काम गर्न नसक्ने शर्माको दाबी छ । शर्माले काँग्रेस र एमालेको सरकार बनाएर स्थायी विकास र सुशासनको पक्षमा काम गर्नुपर्ने बेला आएको बताएका छन् ।

पत्रकार सम्मेलन प्रेस युनियन बाजुराले आयोजना गरेको हो । सरकार परिवर्तका कारण विकास निर्माण र अर्थतन्त्रमा सुधार आउन नसकेको शर्माको दाबी छ ।

काठमाडौं मेडिकल कलेजका मालिक समेत रहेका शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार नै देशको अर्थतन्त्र र विकासको जग भएको बताएका छन् ।

संसदले बनाउनु पर्ने कानुन बनाउन सकेको छैन् । सदन चल्दैन् । सरकार सत्ता टिकाउनमा केन्द्रीत छ । जनताका सवाल र अर्थतन्त्र सुधारको विषय कसैको ध्यान र जिम्मेवारीमा नपरेको आरोप लगाएका छन् ।

विरोध र प्रतिशोधले देश नबन्ने शर्माको भनाई रहेको छ । अहिले देशमा अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण राजनीति र दोषी दलका नेताहरु नै भएको शर्माको दाबी छ ।

डाक्टर शर्माले जनताका आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको निःशुल्क ग्यारेण्टी गरिनु पर्ने धारणा राखेका छन् ।

हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकासँगको सहकार्य, काठमाडौं मेडिकल कलेजको संयोजनमा आयोजना गरिएको शिविरमा ६ हजार बढीले सेवा लिएको शर्माले पत्रकार सम्मेलनमा दाबी गरेका छन् । 

 उनले चुनाव जितेकालाई पाखा लगाएर समानुपातिकबाट आएकाहरुलाई मन्त्री बनाउने कुरा पनि जनमत विपरित र योग्यता माथिको अन्याय भएको बताएका छन् ।

शर्माले डाक्टर गोविन्द्र केसीलाई काँग्रेस भित्रै केही नेताहरुले बोकेर स्वास्थ्य क्षेत्र नै तहस नहस पारेको आरोप लगाएका छन् । स्वास्थ्य विषयको अध्ययनका लागि वार्षिक रुपमा अर्बौ बजेट देश बाहिर पठाउनु पर्ने प्रमुख दोषी डाक्टर गोविन्द्र केसी र उनलाई संरक्षण गर्ने व्यक्तिहरु भएको जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन बाजुराका उपाध्यक्ष जयबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा काँग्रेसका नेता तथा प्रतिनिधी सभाका सदस्य डाक्टर सुनिल शर्मा प्रमुख अतिथि रहेका थिए । 

पत्रकार सम्मेलनमा खोटाङ जिल्लाका पूर्व पार्टी सभापति सुवाश पोखरेल, नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश महासचिव हरिश भट्ट, पुर्व केन्द्रीय सदस्य दयाराम पण्डित सहितको सहभागीता थियो । 

प्रतिक्रिया