गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२७
Dho

सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै, प्रदेशभर सार्वजनिक विदा

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै, प्रदेशभर सार्वजनिक विदा

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले साेमबार (आज) एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएकाे हाे ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन् । राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै माैलिकता रहेकाे छ ।

खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउन गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।

राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन् ।

खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ । खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ ।

खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ। खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ ।

गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआउन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका स्थानीय अगुवाहरू बताउँछन् । राना थारूको बसोबास बढी रहेको वस्तीमा खखडेहरा महोत्सवसमेत हुने गरेको छ ।

प्रतिक्रिया