गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:४०
Dho

धनगढीका राष्ट्र बैंक निर्देशकको बदमासी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
धनगढीका राष्ट्र बैंक निर्देशकको बदमासी

बाजुरा : नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकले बदमासी गरेको विषय बाहिर आएको छ। उनले राष्ट्र बैंक धनगढीको ढुकुटीको सिल तोडेको विषय बाहिर आएपछि सरुवा गरिएको छ। कञ्चनपुरको महेन्द्रनगर घर भएका लेखकलाई कारबाही स्वरुप काठमाण्डौँ सरुवा गरिएको छ।

उनी यही फागुन २ गतेसम्म राष्ट्र बैंक धनगढीमै निर्देशकको रुपमा हाजिरी भएको रेकर्ड छ। लेखकले राष्ट्र बैंकको ढुकुटीको सिल तोडेपछि काठमाण्डौँ सरुवा भएका छन्। अहिले शान्ति पाण्डेलाई राष्ट्र बैंक धनगढीको निमित्तको जिम्मेवारी दिइएको छ। लेखकलाई भने राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा अतिरिक्त समूह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ।

लेखकले तीन साताअघि नेपाल राष्ट्र बैंक धनगढीको ढुकुटीमा लगाइएको सिल तोडेपछि अनुसन्धानमा तानिएका थिए। लेखक आफैले ढुकुटीको सिल तोडेको खुलेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। ढुकुटीमा सिल भएको स्थानमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ। ढुकुटीका ढोकामा समेत तीनवटा ताल्चा लगाइएको हुन्छ। हरेक दिन साँझ ५ बजे ढुकुटीमा बलिया ताल्चा लगाइने गरेको छ।

लगाइएका चाबीहरूमध्ये एउटा कार्यालय प्रमुख, अर्को क्यासियर र तेस्रो कार्यालय प्रमुखले तोकेको व्यक्तिको जिम्मा लगाइन्छ। त्यतिले मात्र नपुगेर ती ताल्चा अनधिकृत ढंगले खोलिन्छन् कि भनेर त्यसलाई काँचो धागोले बाँधेर लाहा छाप लगाउने र सुरक्षाको जिम्मा पाएका व्यक्तिहरूलाई साक्षीका रूपमा सनाखत गराएर मात्र कर्मचारीहरू घर जान्छन्।

 साँझ ५ बजेदेखि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा हरेक कार्यालयका ढुकुटी राखिएको हुन्छ। यस्तोमा धनगढी कार्यालयको सिल तोडिएको अवस्थामा भेटिएपछि छानबिन सुरु भएको थियो। केन्द्रीय कार्यालय काठमाडौँले एउटा टोली नै अनुसन्धानको लागि खटाएको थियो।

अनुसन्धानबाट लेखकले नै बिहानको समयमा बैंकको ढुकुटीमा पुगेर ढोकामा लगाएको ‘सिल’ तोडेर फर्किएको खुलेको छ। गर्नै नहुँने काम लेखकले गरेपछि अहिले उनलाई कारबाही स्वरुप काठमाण्डौँ सरुवा गरिएको छ। यही फागुन २ गतेदेखि राष्ट्र बैंक धनगढी निर्देशकविहिन अवस्थामा छ। अहिलेसम्म नयाँ निर्देशकको रुपमा कोहि पनि आइनपुगेको राष्ट्र बैंक धनगढीका निमिक्त निर्देशक शान्ति पाण्डेले बताए।

प्रतिक्रिया