बाजुरा ः बाजुराको गौमुल गाउँपालिकामा शैक्षिक सत्रका वार्षिक कार्यक्रम, नयाँ शिक्षा नियमावली तथा दसैँ-तिहार बिदा सम्बन्धी विषयमा जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा शैक्षिक सत्रभरि सञ्चालन गरिने शैक्षिक क्रियाकलाप, विद्यालयको नियमित कार्यसम्पादन, नयाँ कानुनी व्यवस्था तथा बिदाको व्यवस्थापन लगायत विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारबाट जारी शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ का व्यवस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कानुनी प्रावधानबारे समेत व्यापक छलफल गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित उक्त नियमावलीका व्यवस्थालाई स्थानीय तह तथा विद्यालयको कार्यसम्पादनसँग जोडेर छलफल गरिएको हो ।
छलफलका क्रममा शैक्षिक गतिविधिलाई योजनाबद्ध रुपमा सञ्चालन गर्ने, विद्यालयको नियमित पठनपाठन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने र सरकारी नीति तथा कानुनी व्यवस्थाको कार्यान्वयनमा समन्वय गर्ने विषयमा जोड दिइएको छ ।
त्यसैगरी, दसैँ तथा तिहारको बिदालाई व्यवस्थित बनाउने, बिदापछि विद्यालय सञ्चालन तथा पठनपाठनलाई नियमितता दिने र शैक्षिक सत्रका निर्धारित गतिविधि समयमै सम्पन्न गर्ने विषयमा समेत छलफल भएको छ ।कार्यक्रमको सहजीकरण गाउँपालिकाको शिक्षा शाखा प्रमुख भक्त रोकायाले गरेका थिए ।
स्थानीय तह, जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीचको समन्वयले शैक्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विद्यालय व्यवस्थापनमा सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया