बाजुरा ःगौमुल गाउँपालिका-२ स्थित जनज्योति माध्यमिक विद्यालयमा आउँदै गरेको विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदान-प्रदानसहित विद्यार्थीहरूको त्रैमासिक परीक्षाको प्रगति समीक्षा तथा विविध कार्यक्रम सम्पन्न भएका छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिका-२ का वडा अध्यक्ष देवबहादुर रोकाया प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको त्रैमासिक परीक्षाको नतिजा तथा शैक्षिक प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
साथै, दशैं तथा तिहारको अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा वडा जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा सेवा क्षेत्रभित्रका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
शैक्षिक प्रगतिको समीक्षा र चाडपर्वको शुभकामनालाई एउटै मञ्चमा जोडिएको कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीको शैक्षिक सुधारका लागि साझा प्रतिबद्धताको सन्देश दिएको छ।






प्रतिक्रिया