गाैमुल खबर डटकम बिहीबार २२, असोज २०८३ ०४:३४

दशैं-तिहारमा अम्लिसमा खेलकुदको रौनक, फुटबलदेखि महिला भलिबलसम्म प्रतियोगिता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २१, २०८३
दशैं-तिहारमा अम्लिसमा खेलकुदको रौनक, फुटबलदेखि महिला भलिबलसम्म प्रतियोगिता

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा दसैं-तिहारको अवसर पारेर विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, युवाको सहभागिता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले फुटबल, पुरुष भलिबल र खुला महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

स्थानीय सुरेश रोकायाका अनुसार गौमुल गाउँपालिका-१ अम्लिसको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा वडा स्तरीय फुटबल पुरुष, साविक वडा स्तरीय भलिबल पुरुष तथा खुला महिला भलिबल समावेश गरिएको छ।

वडा स्तरीय फुटबल पुरुषतर्फ प्रथम हुने टोलीले ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल तथा द्वितीय हुने टोलीले १५ हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई मेडल सहित नगद पुरस्कारको व्यवस्था गरिएको छ। फुटबलतर्फ टोली दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, साविक वडा स्तरीय पुरुष भलिबलतर्फ प्रथमलाई ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल तथा द्वितीयलाई १५ हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई मेडलसहित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

खुला महिला भलिबलतर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँ सहित ट्रफी र मेडल तथा द्वितीय हुने टोलीले ७ हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछ। महिला भलिबलका लागि टोली दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ।

प्रतियोगिता गौमुल गाउँपालिका-१ अम्लिसस्थित वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ। आयोजकका अनुसार २०८३ कार्तिक ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुने र सोही दिन दिउँसो १२ बजेसम्म टोली दर्ता गरिसक्नुपर्नेछ।

दसैं-तिहारजस्ता पर्वलाई खेलकुदसँग जोड्दै गाउँमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र युवाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकाे हाे ।

“हार र जित खेलका पाटा हुन्, प्रयास नै जीवनका बाटा हुन्” भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिताले अम्लिसमा पर्वसँगै खेलकुदको उत्साह समेत थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया