बाजुरा ःबाजुराको गौमुल गाउँपालिकामा रहेका मुक्त हलिया तथा खलियाहरुको पहिचान, वर्गीकरण र पुनर्स्थापनाको प्रक्रिया प्रभावकारी बनाउन स्थानीय सरकार र हलिया प्रतिनिधिहरुबीच एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमले गाउँपालिकाभित्र रहेका हलिया तथा खलियाहरुको पहिचान गरी तत्काल वर्गीकरण गर्ने निर्णय गरेको छ। यसअघि विभिन्न वडा मार्फत विवरण संकलन गरिएको भएपनि केही त्रुटि देखिएकाले पुनः विवरण संकलन गरिने भएको हो।
गाउँपालिकामा रहेका सम्पूर्ण हलिया तथा खलियाहरुलाई आफ्नो सम्बन्धित वडा कार्यालयमा गई आगामी पाँच दिनभित्र अनिवार्य रुपमा फारम भरी विवरण दर्ता गराउन आग्रह गरिएको छ। यसअघि फारम भरिसकेका व्यक्तिहरुले समेत आफ्नो विवरण सम्बन्धित वडा कार्यालयमा बुझेर आवश्यक विवरण अद्यावधिक गर्नुपर्नेछ।
मुक्त हलिया पुनर्स्थापना कार्यविधिको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवाहरुमा हलिया समुदायको पहुँच वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सही विवरण संकलन र वर्गीकरणले वास्तविक लाभग्राहीको पहिचान तथा पुनर्स्थापना सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र जिल्ला हलिया मुक्त समाज, बाजुराको आयोजनामा ELCA, LWF को सहयोग तथा सहकार्य र गौमुल गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
गौमुल गाउँपालिका स्तरीय मुक्त हलिया समाजका अध्यक्ष डबल चँदाराको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु अमर विक, गोरख बोहरा र प्रकाश रोकाया लगायत सामाजिक परिचालक जनसरा सार्की तथा हलिया प्रतिनिधिहरुको सहभागिता रहेको थियो।





प्रतिक्रिया