गाैमुल खबर डटकम शुक्रबार २३, असोज २०८३ ०४:२२

गौमुल-३ मा दशैंको उत्सवसँगै शिक्षासँग खेलकुद र संस्कृतिको संगम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज २२, २०८३
गौमुल-३ मा दशैंको उत्सवसँगै शिक्षासँग खेलकुद र संस्कृतिको संगम

बाजुरा ःगौमुल गाउँपालिका-३ को सहयोग तथा बालविकास नमुना माध्यमिक विद्यालयको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदान-प्रदान, विद्यालयको नतिजा प्रकाशन, वडास्तरीय अन्तरविद्यालय खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित डेउडा प्रतियोगिता आयोजना गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर वि.क.र वडा नं. ३ का अध्यक्ष गोरख बोहरा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यालयले शैक्षिक उपलब्धिको समीक्षा गर्दै विद्यार्थीको नतिजा प्रकाशन गरेको थियो। त्यसैगरी विद्यार्थीको प्रतिभा, अनुशासन र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले वडास्तरीय अन्तरविद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो।

स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको डेउडा प्रतियोगिताले कार्यक्रमलाई थप आकर्षक र उत्सवमय बनाएको थियो। डेउडा मार्फत स्थानीय महिला तथा युवाहरूले सामाजिक चेतना, शिक्षा, संस्कार र समुदायका समसामयिक विषयसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका उपाध्यक्ष रमित विक, वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा सेवा क्षेत्रभित्रका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

शिक्षा, खेलकुद, संस्कृति र सामाजिक एकतालाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको कार्यक्रमले दशैंको उल्लाससँगै स्थानीय मौलिकता र विद्यार्थी प्रतिभाको समेत उजागर गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया