बाजुरा ःगौमुल गाउँपालिका-२ मा क्षयरोगको सम्भावित संक्रमण पहिचान तथा नियन्त्रणका लागि बस्तीस्तरमै स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको छ।
गौमुल आधारभूत अस्पतालका नयाँ डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीसँग वडा अध्यक्ष देवबहादुर रोकायाले फिल्डमै पुगेर स्वास्थ्य सम्बन्धी महत्वपूर्ण काममा सक्रिय सहभागिता जनाएका छन्।
टोलीले वडाका विभिन्न बस्तीमा पुगेर क्षयरोगका सम्भावित लक्षण भएका व्यक्तिहरुको पहिचान गर्दै आवश्यक नमुना संकलन गरेको हो।
सम्भावित क्षयरोगीको समयमै पहिचान, परीक्षण र उपचार सुनिश्चित गर्ने उद्देश्यले बस्तीमै पुगेर नमुना संकलन गरिएको हो। प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारको पहुँचमा ल्याउन सके क्षयरोगको संक्रमण फैलिनबाट रोक्न महत्वपूर्ण योगदान पुग्ने भएकाे छ ।
स्वास्थ्यकर्मीको टोलीसँगै फिल्डमा सक्रिय वडा अध्यक्ष रोकायाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बस्तीका नागरिकलाई समेत समयमै स्वास्थ्य सेवासँग जोड्न स्थानीय तहले निरन्तर पहल गरिरहेको बताउनुभएको छ।





प्रतिक्रिया