गाैमुल खबर डटकम बिहीबार २२, असोज २०८३ ०४:३४

जहाँ उपचार पुग्दैनथ्यो, त्यहाँ पुग्यो सेवा : दुर्गमका १४ हजार नागरिकको निःशुल्क उपचार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २१, २०८३
जहाँ उपचार पुग्दैनथ्यो, त्यहाँ पुग्यो सेवा : दुर्गमका १४ हजार नागरिकको निःशुल्क उपचार

बाजुरा ः आर्थिक अभावका कारण रोग पालेर बस्नुपर्ने बाध्यतामा रहेका बाजुराको बुढीनन्दा नगरपालिकाका १४ हजार भन्दा बढी नागरिकले पछिल्लो चार वर्षमा निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन्।

बुढीनन्दा नगरपालिकाले ‘एक-एक पाइला फाउन्डेसन’सँग पाँच वर्षका लागि सम्झौता गरी विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

चार वर्षको अवधिमा सञ्चालन भएका शिविरबाट १४ हजार नागरिकले विभिन्न रोगको उपचार सेवा पाएका हुन्। नगरपालिकाका अनुसार पहिलो वर्ष ४ हजार ५ सयभन्दा बढी, दोस्रो वर्ष १ हजार ७ सयभन्दा बढी र तेस्रो वर्ष ४ हजार २ सय १० भन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका थिए।

चौथो वर्ष शल्यक्रियालाई प्राथमिकतामा राखेर नाक, कान, घाँटी, आँखा, दाँत तथा स्त्रीरोगसँगै केही बालरोगसम्बन्धी सेवा पनि प्रदान गरिएको थियो।शिविरबाट मात्रै ३ हजार ३ सय ६१ जना बिरामीले उपचार सेवा लिएका नगर प्रमुख जनक बोहराले बताए ।

‘दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत धनगढी, नेपालगन्ज, सुर्खेत तथा काठमाडौं पुग्नुपर्ने बाध्यता छ। गाउँमै विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा पाएपछि उपचारमा लाग्ने खर्चसमेत जोगिएको छ,’ उनले भने, ‘निःशुल्क उपचारसँगै औषधि उपलब्ध गराइएकाले आर्थिक रूपमा विपन्न नागरिकलाई ठूलो राहत पुगेको छ।’

नगर प्रमुख बोहराका अनुसार नगरपालिकाको मुख्य लक्ष्य बुढीनन्दाका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु हो। ‘हाम्रो सबैभन्दा ठूलो लक्ष्य यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो। अहिलेसम्म ‘एक–एक पाइला फाउन्डेसन’ले साथ दिएको छ।

आगामी दिनमा पनि विभिन्न संस्था तथा निकायसँग समन्वय गरेर विशेषज्ञ स्वास्थ्य सेवा यहाँ ल्याउने प्रयास गर्छौं,’ बोहराले भने। बुढीनन्दाको कोल्टी बाजुराका मात्रै नभई आसपासका १७ स्थानीय तहका नागरिकका लागि स्वास्थ्य सेवा लिने प्रमुख केन्द्र हो।

बाजुरासँगै मुगु, हुम्ला र कालिकोटका नागरिकसमेत उपचारका लागि कोल्टी पुग्ने गरेका छन्। लामो प्रयासपछि निक साइमन्स इन्स्टिच्युटको टोलीसमेत कोल्टीमा आउन थालेपछि यहाँका हजारौँ सेवाग्राहीले थप विशेषज्ञ स्वास्थ्य सेवा पाउने नगर प्रमुख बोहराको विश्वास छ।

प्रदेश सरकारले कोल्टीलाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने आश्वासन दिएपछि नगरपालिकाको उत्साह थप बढेको उनले बताए। ‘हामी भूगोलका हिसाबले दुर्गममा छौँ होला।

तर दुर्गम भएकै कारण उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न हामी लागिरहेका छौँ,’ बोहराले भने, ‘नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हुनेछ।’

नगरपालिकाले आगामी दिनमा पनि दुर्गम तथा आर्थिक रूपमा विपन्न नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया