बाजुरा ःगौमुल गाउँपालिका-४ को वडा कार्यालय परिसरमा आकस्मिक हवाई उद्धार तथा हेलिकप्टर सेवा सञ्चालनका लागि हेलिप्याड निर्माण गर्ने उद्देश्यले उपयुक्त स्थानको अवलोकन तथा पहिचान गरिएको छ।
आपत्कालीन अवस्थामा बिरामी, गर्भवती, दुर्घटनामा परेका तथा जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माणको पहल अघि बढाइएको वडा अध्यक्ष अमर विकले बताउनुभयो।
हेलिप्याड निर्माणका लागि नेपाली सेनाको विशेष प्राविधिक सल्लाह तथा समन्वयमा सम्भावित स्थानको स्थलगत अवलोकन तथा पहिचान गरिएको अध्यक्ष विकले जानकारी दिनुभयो।
दुर्गम भौगोलिक अवस्थाका कारण गम्भीर बिरामी तथा आपत्कालीन अवस्थाका नागरिकलाई समयमै स्वास्थ्य संस्था पुर्याउन चुनौती हुँदै आएको अवस्थामा हेलिप्याड निर्माणले जनताको जीवनरक्षा र आपत्कालीन उद्धार सेवामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
“यो संरचना कुनै व्यक्ति वा समूहका लागि मात्र होइन, आपत्कालीन अवस्थामा हरेक नागरिकको जीवन बचाउन र जनतालाई सहज सेवा दिनका लागि हो,” वडा अध्यक्ष वि.क.ले भन्नुभयो।
उहाँले विपद्, दुर्घटना, स्वास्थ्य सम्बन्धी आकस्मिक अवस्था तथा अन्य आपत्कालीन परिस्थितिमा हेलिकप्टर अवतरण र उद्धार कार्यलाई सहज बनाउन हेलिप्याड निर्माण आवश्यक रहेको बताउनुभयो।
हेलिप्याड निर्माणका लागि प्राविधिक सुझाव, सहजीकरण तथा समन्वय प्रदान गरेकोमा वडा अध्यक्ष वि.क.ले नेपाली सेनाको टोलीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
“जनताको जीवनभन्दा ठूलो कुरा केही छैन। आपत्कालीन अवस्थामा एउटा जीवन पनि समयमै बचाउन सकियो भने यो पहलको सार्थकता त्यही हुनेछ,” अध्यक्ष वि.क.को भनाइ छ।





प्रतिक्रिया