गाैमुल खबर डटकम बुधबार २१, असोज २०८३ ०४:३२

नाम अमर, सिर्जना अमर-आखिर कसरी जन्मियो ‘पहेली धानका बाला’ ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २०, २०८३
नाम अमर, सिर्जना अमर-आखिर कसरी जन्मियो ‘पहेली धानका बाला’ ?

बाजुरा ः दसैं-तिहार नजिकिँदै गर्दा नेपाली गाउँघरदेखि परदेशसम्म गुञ्जिने लोकप्रिय गीत ‘पहेली धानका बाला’ फेरि नेपाली मन-मनमा बस्न थालेको छ। पुस्तौँसम्म सम्झिइरहने यो गीतको जन्मकथा भने निकै संघर्षपूर्ण र प्रेरणादायी छ।

‘पहेली धानका बाला’का परिकल्पनाकार तथा लेखक अमर वि.क.हुन्। कर्णप्रिय स्वरका धनी प्रकाश थापाको आवाजमा सार्वजनिक भएपछि गीतले थप लोकप्रियता हासिल गर्‍यो।

तर, आज हजारौँ नेपालीको मनमा बसेको यो गीतको परिकल्पना कुनै सुविधा सम्पन्न परिवेशमा नभई परदेशमा पसिना बगाउँदै जन्मिएको थियो।

२०६१ सालमा भारतको सुरतमा भाँडा माझ्दै गर्दा अमर वि.क.को मनमा ‘पहेली धानका बाला’को परिकल्पना जन्मिएको थियो।

जीवन गुजार्न परदेशमा श्रम गरिरहेका बेला मनमा उम्रिएको त्यो सानो कल्पना समयसँगै शब्द, भावना र संगीतको रुप लिँदै नेपालीको प्रिय गीत बन्न पुग्यो।

परदेशको कठिन श्रम, गाउँघरको सम्झना, दसैं-तिहारको उमंग र नेपाली माटोप्रतिको आत्मीयतालाई समेटेर जन्मिएको उक्त सिर्जनाले अहिले पनि चाडपर्वको माहोललाई थप रंगीन बनाउने गरेको छ।

विशेष कुरा त के छ भने, कुनै समय भारतमा भाँडा माझेर जीवन धानिरहेका अमर वि.क.आज गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष छन्।

परदेशमा श्रम गर्दागर्दै मनमा जन्मिएको एउटा कल्पना आज जनताको मनमा गुञ्जिने गीत बनेको छ। यो यात्रा उनको जीवनमा संघर्ष, सिर्जना र सफलताको अनुपम उदाहरण बनेको छ।

शालीन र भद्र स्वभावका अमर वि.क.का लागि ‘पहेली धानका बाला’ एउटा गीत मात्र होइन, परदेशी जीवनको भोगाइ, नेपाली माटोको सम्झना र सिर्जनात्मक सपनाको दस्तावेज पनि हो।

भाँडा माझ्दै गर्दा मनमा जन्मिएको एउटा कल्पना आज दसैं-तिहारको उमंगसँगै लाखौँ नेपालीको स्मृतिमा गुञ्जिरहेको छ।

यही कारण ‘पहेली धानका बाला’को लोकप्रियता भन्दा पनि यसको जन्मकथा अझ प्रेरणादायी देखिन्छ संघर्षको बीचमा जन्मिएको सिर्जना समयसँगै कसरी जनताको साझा सम्पत्ति बन्न सक्छ ।

प्रतिक्रिया