गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:५०

भवन बन्यो, अब विद्यार्थीको भविष्य बनाउन शैक्षिक गुणस्तर सुधारौँ : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १८, २०८३
भवन बन्यो, अब विद्यार्थीको भविष्य बनाउन शैक्षिक गुणस्तर सुधारौँ : उपाध्यक्ष थापा

बाजुरा ः गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माणतर्फ प्रगति भएको उल्लेख गर्दै अब त्यसको प्रभाव विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा देखिनुपर्ने बताएकी छन् ।

गौमुल गाउँपालिका-६ सालीकोटमा रहेकाे नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन् ।

उनले विद्यालयको विकासका लागि भवन, कक्षाकोठा तथा अन्य भौतिक पूर्वाधार महत्वपूर्ण भएपनि त्यससँगै गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य चुनौती भएको बताइन्।

विद्यालयको शैक्षिक वातावरण सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उपाध्यक्ष थापाले अभिभावकको चेतनास्तर फराकिलो बनाउन पनि विद्यालय र समुदायले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

आफ्ना बालबालिकाको पढाइ, नियमित उपस्थिति, सिकाइ र व्यवहारप्रति अभिभावकले निरन्तर चासो राख्नुपर्ने भन्दै उनले विद्यालयप्रति अभिभावकको अपनत्व र जिम्मेवारी बढाउनुपर्ने बताइन्।

उनले भौतिक पूर्वाधार निर्माणलाई मात्र विद्यालय विकासको आधार मान्न नहुने भन्दै अब शैक्षिक उपलब्धि, अनुशासन, नियमितता र प्रभावकारी शिक्षण सिकाइलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताइन्।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया