गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:५०

नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव सम्पन्न, शैक्षिक गुणस्तर सुधारमा हातेमालो गर्न आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १८, २०८३
नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव सम्पन्न, शैक्षिक गुणस्तर सुधारमा हातेमालो गर्न आग्रह

बाजुरा ःगौमुल गाउँपालिका-६ सालीकोटमा नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सहित विद्यालयले वार्षिक उत्सव मनाएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन्।

गौमुल गाउँपालिका-३ का वडा अध्यक्ष गोरख बोहरा र वडा नं. ४ का अध्यक्ष अमर विक विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए।

कार्यक्रममा कार्यपालिका सदस्य राजिन्द्रा विष्ट रोकाया, वडा सदस्यहरु कलक चँदारा, तुसार सार्की र मंगल धामी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विक, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि उमेश रोकाया, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर रोकाया, जय मालिका यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र रोकाया लगायत विद्यालयको सेवा क्षेत्रभित्रका अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाले विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा प्रगति सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी अतिथिहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक तथा समुदायबीच निरन्तर सहकार्य र हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए।

वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, टाँडाकोट र कौडाकोट टोलका स्थानीय महिलाहरुबीच डेउडा प्रतियोगिता समेत आयोजना गरिएको थियो। डेउडा प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो।

विद्यालयका शिक्षक देवेन्द्रबहादुर रोकायाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक धनबहादुर रोकायाले गरेका थिए। कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो।

३७ औँ वार्षिक उत्सवले विद्यालयको शैक्षिक विकाससँगै अभिभावक, समुदाय र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको सहभागीहरुले बताएका छन्।

प्रतिक्रिया