बाजुरा ःनेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लिएर पार्टीभित्र समानान्तर गतिविधि तीव्र भइरहेका बेला देउवा पक्षको कांग्रेस बाजुराले आठौँ जिल्ला अधिवेशनको तयारी अघि बढाएको छ। देउवा पक्षले आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिकाअनुसार जिल्लामा संगठनात्मक तयारी तीव्र बनाएको हो।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा कांग्रेसका दुवै पक्षले आ–आफ्नो संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। यही पृष्ठभूमिमा देउवा पक्षले पनि वडा तहदेखि जिल्ला हुँदै केन्द्रीय महाधिवेशनसम्मको आफ्नो प्रक्रिया अघि बढाएको हो।
देउवा पक्षले बाजुरामा महाधिवेशन तयारीको समन्वयका लागि धनराज पण्डितलाई जिल्ला संयोजक तोकेको छ। पण्डितको संयोजकत्वमा जिल्लामा अधिवेशन तयारी, संगठनात्मक समन्वय तथा आवश्यक व्यवस्थापनका काम अघि बढाइएको बताइएको छ।
अधिवेशन तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ। राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखनको जिम्मेवारी नारायण पाध्यायलाई दिइएको छ। आर्थिक व्यवस्थापनतर्फ रनसिंह अयडी र टेकबहादुर रोकाया, कार्यालय व्यवस्थापनमा जनक थापा, आवास तथा भोजन व्यवस्थापनमा मोहन कार्की, अतिथि सत्कारमा कविता विष्ट, युवा परिचालनमा प्रकाश रावल तथा सांस्कृतिक कार्यक्रम तयारीको संयोजनमा पूजा खातीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै कविराज पण्डितलाई अन्तरपार्टी तथा गैरसरकारी संस्था समन्वयको जिम्मेवारी दिइएको जनाइएको छ।
देउवा पक्षले असोज १५ गते वडा अधिवेशनबाट प्रक्रिया सुरु गरी त्यसपछि पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्ने कार्यतालिका बनाएको छ। सार्वजनिक कार्यतालिकाअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने योजना अघि सारिएको छ।
बाजुरामा भने जिल्ला अधिवेशनका लागि आवश्यक राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक व्यवस्थापन, कार्यालय सञ्चालन, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार र युवा परिचालनलगायतका कामलाई समानान्तर रूपमा अघि बढाइएको बताइएको छ।
यसअघि कांग्रेस बाजुराको अर्को पक्षले पनि आफ्नो अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। पार्टीको आधिकारिकता तथा अधिवेशनसम्बन्धी विवाद कानुनी प्रक्रियामा रहेका बेला दुवै पक्षबाट समानान्तर संगठनात्मक गतिविधि अघि बढेपछि बाजुराको कांग्रेस अधिवेशन थप चासोको विषय बनेको छ।
देउवा पक्षले भने निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ। वडा तहबाट संगठनात्मक प्रक्रिया सुरु गर्दै क्रमशः माथिल्ला तहका अधिवेशन सम्पन्न गर्ने तयारीका साथ जिल्ला तहमा आवश्यक व्यवस्थापन र समन्वयको काम तीव्र पारिएको छ।





प्रतिक्रिया