बाजुरा ः नेपाली कांग्रेस बाजुराको १५ औँ महाधिवेशन अन्तर्गत ३१ जना महाधिवेशन प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का सभापति चयनका लागि मतदान सुरु भएको छ।
मार्तडीस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा मतदान भइरहेको हो। मतदान प्रक्रियाको सुरु आतमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जनकराज गिरी र जिल्ला सभापति रामसिंह रावलले मतदान गरेका छन्।
महाधिवेशन प्रतिनिधि छनोटका लागि १ हजार ६१० जना प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्। प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का सभापतिका लागि भने सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिले मतदान गर्नेछन्।
बाजुरा कांग्रेसको यो अधिवेशनले आगामी केन्द्रीय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने भएकाले मतदानलाई विशेष चासोका साथ हेरिएको छ। यसअघि जिल्लाका अधिकांश वडा र पालिका तहमा नेतृत्व चयन भइसकेको छ।
यतिबेला देउवा र गगन समूहका नेता-कार्यकर्ता मार्तडीमा केन्द्रित भएका छन्। दुवै समूह आफ्ना पक्षका प्रतिनिधि निर्वाचित गराउन सक्रिय देखिएका छन्। यसले बाजुरा कांग्रेसको अधिवेशनलाई संगठनात्मक नेतृत्व चयनसँगै आन्तरिक शक्ति सन्तुलनको दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।
अबको मतदानबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको संरचनाले आगामी १५औँ केन्द्रीय महाधिवेशनमा बाजुरा कांग्रेसको प्रतिनिधित्व र राजनीतिक धारणामा प्रभाव पार्ने भएकाले जिल्लाको कांग्रेस राजनीतिमा यो मतदानलाई महत्वका साथ हेरिएको छ। मार्तडीमा जारी मतदानसँगै बाजुरा कांग्रेसको अधिवेशन थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।






प्रतिक्रिया