गाैमुल खबर डटकम बिहीबार १५, असोज २०८३ ०४:०३

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

बाजुरा ः कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । एक टावर भाँचिएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो । सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार दोधारा-चाँदनीको झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ ।

उनले अनलाइनखबरसँग भने, ‘मैले पनि सिडिओ सा’बबाट झोलुङ्गे पुलमा पुगेको क्षतिबारे जानकारी पाएँ । जानकारी पाउनेबित्तिकै प्राविधिक टोली जाने तयारी भइरहेको छ । प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि मात्रै क्षति यकिन गर्न सकिन्छ ।’

२०६१ सालमा बनेको थियो पुल, अस्वाभाविक रुपमा माथि उठेको थियो एउटा भाग

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने सो पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो । महाकाली अनलाइन डटकमका प्रबन्धक खडक रावलका अनुसार आज बिहान करिब चार–पाँच बजे सो पुलबाट ओहोरदोहोर गर्ने स्थानीयले पुलको एक भाग अस्वाभाविक रुपमा माथि उठेको देखेका थिए ।

त्यसबारे प्रहरीलाई जानकारी पनि गराइएको थियो । तर आज बिहान करिब आठ बजेतिर माथि उठेको सो भाग नदीमा खसेको रावलले बताए । पुलको बीचको एक भाग भत्किएपछि दोधाराचाँदनी र भीमदत्तनगरबीच आउ–जाउ गर्ने सो बाटो बन्द भएको छ । अब आउजाउ गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने रावलले बताए ।

प्रतिक्रिया