गाैमुल खबर डटकम बिहीबार १५, असोज २०८३ ०४:०३

बाजुरा कांग्रेसमा ‘रुख’ विवाद चर्कियो : देउवा पक्ष भन्छ-‘अदालतको फैसला नआउँदै विजेता नबनौँ’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज १४, २०८३
बाजुरा कांग्रेसमा ‘रुख’ विवाद चर्कियो : देउवा पक्ष भन्छ-‘अदालतको फैसला नआउँदै विजेता नबनौँ’

बाजुरा ः नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद अझै टुंगिनसकेको बाजुरामा देउवा पक्षले बताएको छ । देउवा पक्षले बुधबार बाजुरामा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा भ्रम नफैलाउन आग्रह गरेका छन् ।

देउवा पक्षका तर्फबाट संयोजक धनराज पण्डितले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशी, पूर्वबाजुरा जिल्ला सभापति कविराज पण्डित, नेता नारायण पाध्याय, रनसिंह अयडी, नरबहादुर रावतलगायत नेताहरूको सहभागिता थियो।

पार्टीको आधिकारिकता, नेतृत्व र चुनाव चिह्नसम्बन्धी कानुनी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कुनै पक्षले आफूलाई विजेता घोषणा गर्नु उचित नभएको उनिहरूको दाबी थियो ।

पत्रकार सम्मेलनमा पूर्वजिल्ला सभापति कविराज पण्डितले कांग्रेसको आधिकारिकता र ‘रुख’ चुनाव चिह्नसम्बन्धी कानुनी लडाइँ जारी रहेको बताए। उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा कुनै एउटा पक्षले आफ्नो पक्षमा फैसला भइसकेजस्तो गरी प्रचार गर्नु गलत भएको बताए। ‘कानुनी लडाइँ जारी छ।

अहिले कांग्रेस र रुख कसको भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थामा ‘मेरो’, भन्दै जनतालाई भ्रम फैलाउने काम गलत हो। अदालतले फैसला गर्न बाँकी रहेको विषयमा आफैं फैसला गरेजस्तो प्रस्तुत गर्नु उचित हुँदैन,’ पण्डितले भने।

उनले विचाराधीन मुद्दालाई बेवास्ता गर्दै वडा तथा पालिका अधिवेशनको प्रक्रिया अघि बढाइएकोप्रति समेत आपत्ति जनाए। आफूहरूको असहमति पार्टी विभाजन वा दुईवटा कांग्रेस बनाउने विषयमा नभएको उनको भनाइ थियो। ‘हामी विशेष विषयमा मात्रै असहमत छौँ।

दुई हुने वा पार्टी फुटाउने हाम्रो नियत होइन,’ उनले भने। कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशीले पार्टीभित्र छलकपट र भ्रमको राजनीतिभन्दा विधि, विधान र सत्यका आधारमा अघि बढ्नुपर्ने बताए।

आफूहरूको पक्षमा नभएको तथ्यलाई प्रचार गरेर जनमत निर्माण गर्ने प्रयास सफल नहुने उनको दाबी थियो। ‘छलकपट होइन, विधि र विधानअनुसारको राजनीति गर्नुपर्छ। भ्रम र झुटबाट मुक्त भएर अघि बढ्नुपर्छ।

दाबी गर्दैमा कुनै कुरा सत्य हुँदैन,’ जोशीले भने। पत्रकार सम्मेलनमा सहभागी नेताहरूले देउवा नेतृत्वको कांग्रेसले कार्यकर्तालाई कुनै ‘ललिपप’ देखाएर भ्रमित नगर्ने दाबी गरे।

आफूहरूलाई २० देखि ३० प्रतिशत पनि समर्थन नरहेको भन्दै प्रचार भइरहेको उल्लेख गर्दै उनीहरूले त्यसको जवाफ आगामी अधिवेशनमा कार्यकर्ताको सहभागिता र उत्साहले दिने बताए।

नेताहरूले कांग्रेसको संगठनात्मक प्रक्रिया विधि र विधानअनुसार अघि बढ्ने भन्दै देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जानकारी दिए।

प्रदेश सभापति वीरबहादुर बलायरले १५औँ महाधिवेशनमा सभापति बनाएर एकताको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको भन्ने विषयमा नेता रनसिंह अयडीले समेत प्रश्न उठाए। उनले यो विषयमा पनि भ्रम फैलाउने काम भइरहेको दाबी गरे।

अयडीले कांग्रेसलाई ‘हाइज्याक’ गरेर एक पक्षले आफ्नो नियन्त्रणमा लिने प्रयास सफल नहुने बताए। पार्टीभित्रको असहमति विचार र विधिको विषय भएको भन्दै उनले यसलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने धारणा राखे।

प्रतिक्रिया