बाजुरा ः ओलीगाउँका ५७ परिवारले सामाजिक सेवाको उद्देश्यसहित स्थापना गरेको पीसविन नेपालले आफ्नो ३७ औँ स्थापना दिवस तथा ३४औँ वार्षिक साधारण सभा मनाएको छ। असोज १० गते स्थापना दिवस रहे पनि खराब मौसमका कारण निर्धारित समयमा कार्यक्रम हुन नसकेपछि मंगलबार स्थापना दिवस तथा वार्षिक साधारण सभा आयोजना गरिएको हो।
तत्कालीन आटीचौर गाविस-४, ओलीगाउँका स्थानीयको सामाजिक सेवाप्रतिको भावना र सामूहिक प्रयासबाट सुरु भएको पीसविन आज सिंगो सुदूरपश्चिमको सामाजिक रूपान्तरण, विकास, सुशासन, समानता, शिक्षा, स्वास्थ्य, अधिकार र जीविकोपार्जनका क्षेत्रमा काम गर्ने संस्थाका रूपमा स्थापित भएको छ। पीसविन नेपालकी अध्यक्ष विमला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्वरी बोहरा लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा, किशोरी सञ्जाल, बाल क्लब तथा दाता संस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले पीसविनले स्थापना कालदेखि बाजुरा हुँदै सुदूरपश्चिमको सामाजिक विकास र रूपान्तरणमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए। उनीहरूले संस्थाले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अधिकार, किशोरी सशक्तीकरण, दलित तथा सीमान्तकृत समुदायको उत्थान, जीविकोपार्जन, सुशासन र सामाजिक चेतना अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे।
पीसविनले आफ्नो स्थापना कालदेखि नै स्थानीय आवश्यकता र समुदायको सहभागितालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। अहिले संस्थाले सुदूरपश्चिमका सबै जिल्लामा सामाजिक विकास र रूपान्तरणका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। संस्थाले हरेक वर्ष एक सानो पालिकाको वार्षिक बजेट बराबरको आर्थिक लगानी हुने गरी कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ।
उत्कृष्ट कर्मचारी सम्मानित ३४औँ वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट कार्यसम्पादनका आधारमा WE CAN परियोजनाका कार्यक्रम संयोजक सुरेन्द्र सेराला, UNFPA 9th Country Programme का HPM मदन भट्ट र पालिका अधिकृत रमा भण्डारीलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान तथा पुरस्कृत गरिएको हो।
संस्थाले कर्मचारीको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै उत्कृष्ट योगदानको कदर गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गर्दै आएको जनाएको छ। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पार्वती जोशीले गरेकी थिइन् भने कोषाध्यक्ष सरिता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साधारण सभामा संस्थाको वार्षिक संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो।
उद्घाटन समारोह सम्पन्न भएपछि साधारण सभाको बन्दसत्रसमेत सम्पन्न भएको छ। बन्दसत्रमा संस्थाको वार्षिक गतिविधि, संस्थागत प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। ओलीगाउँबाट सुदूरपश्चिमसम्मको यात्रा पीसविनको ३७ वर्षे यात्रा एउटा संस्थाको विस्तारको कथा मात्र होइन, स्थानीय समुदायमा जन्मिएको सामाजिक सेवाको भावना कसरी ठूलो सामाजिक अभियानमा रूपान्तरण हुन सक्छ भन्ने उदाहरण पनि हो।
ओलीगाउँका स्थानीय मनमा पलाएको समाजसेवाको भावनाबाट सुरु भएको सानो प्रयास आज सुदूरपश्चिमका आवाजविहीन समुदायको आवाज बन्ने, अधिकारका पक्षमा पैरवी गर्ने र सामाजिक रूपान्तरणको अगुवाइ गर्ने संस्थाका रूपमा स्थापित भएको छ। यस यात्राको जग बसाल्ने संस्थापक तथा सहयोगी अग्रजहरू र संस्थालाई निरन्तर नेतृत्व, दृष्टि र कर्ममार्फत अघि बढाउन योगदान गर्ने लालबहादुर ओली लगायत सम्पूर्ण अग्रजहरूको योगदानलाई कार्यक्रममा स्मरण गरिएको थियो।
पीसविनको योगदान सहकारी अभियानदेखि सामुदायिक वनसम्म, सञ्चार क्षेत्रको विकासदेखि युवा सशक्तीकरणसम्म फैलिएको छ। दलित, महिला, बालबालिका तथा किशोरीका अधिकार र चेतनादेखि शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सुशासनका सवालसम्म संस्थाले लामो समयदेखि काम गर्दै आएको छ।
विशेषगरी बाजुराको सामाजिक विकासको यात्रामा पीसविनले समुदायमा चेतना अभिवृद्धि, अधिकारको पैरवी, संस्थागत क्षमता विकास र स्थानीय सहभागिताको संस्कृति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सरोकारवालाहरूको भनाइ छ। समय बदलिन्छ, पुस्ता फेरिन्छन्, तर समाजका लागि निःस्वार्थ रूपमा गरिएको योगदान मेटिँदैन।
पीसविनले तीन दशकभन्दा लामो यात्रामा निर्माण गरेको समुदायको विश्वास, सामाजिक चेतना र सामाजिक पूँजी नै संस्थाको सबैभन्दा ठूलो उपलब्धि बनेको छ। सानो गाउँबाट सेवा र समर्पणको भावनाले सुरु भएको पीसविनको ३७ वर्षे यात्रा आज सिंगो सुदूरपश्चिमसँग जोडिएको छ। आगामी दिनमा पनि संस्थाले आफ्नो अनुभव, क्षमता र सामाजिक पूँजीलाई अझ विस्तार गर्दै समतामूलक, अधिकारसम्पन्न, समृद्ध र सुशासित समाज निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया