बाजुरा : आर्थिक अवस्था कमजोर भएका तथा टाढाको यात्रा गरेर उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतामा रहेका नागरिकलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको आयोजनामा २०८३ असोज १७ गतेदेखि २५ गतेसम्म कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सञ्चालन हुने शिविरमा विभिन्न रोगको परीक्षण तथा उपचारसँगै आवश्यक शल्यक्रियासमेत निःशुल्क गरिने जनाइएको छ।
शिविरमा आँखा रोगको परीक्षण तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, नाक-कान घाँटी सम्बन्धी रोगको उपचार तथा आवश्यक शल्यक्रिया, स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा, दाँत रोगको उपचार र फार्मेसी सेवा उपलब्ध हुने आयोजकले जनाएको छ।
दुर्गम भौगोलिक अवस्था, सीमित स्वास्थ्य सेवा तथा आर्थिक अभावका कारण सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेका नागरिकका लागि यस्तो शिविरले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी आँखाको उपचार तथा मोतिबिन्दुको शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई स्थानीय स्तरमै सेवा उपलब्ध गराएर सहज बनाउने उद्देश्य शिविरको रहेको छ।
बुढीनन्दा नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्दै ‘स्वास्थ्य सेवा नागरिककै घरदैलोमा’ पुर्याउने उद्देश्यले यस्ता जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
नगरपालिकाका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै समय-समयमा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यस अभियानमा नगर प्रमुख जनककुमार बोहराको सक्रिय अगुवाइ र समन्वय रहेको नगरपालिकाले जनाएको छ। दुर्गम क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि पनि ठूलो खर्च र समय व्यहोर्नुपर्ने अवस्थालाई कम गर्न स्थानीय तहबाटै विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ। निःशुल्क शिविरका कारण आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकले समेत आवश्यक स्वास्थ्य सेवा पाउने अवस्था बन्नेछ।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्यकर्मीबाट परीक्षण, उपचार र आवश्यक शल्यक्रिया हुने भएपछि यसले नागरिकको स्वास्थ्य पहुँचसँगै उपचारमा लाग्ने आर्थिक भारसमेत कम गर्ने अपेक्षा गरिएको छ। शिविरमा नाम दर्ता तथा सेवाका लागि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म व्यवस्था गरिएको छ।
शिविरका लागि एक एक पाइला फाउन्डेसन र गेटा आँखा अस्पतालको सहयोग तथा समन्वय रहनेछ भने आयोजक बुढीनन्दा नगरपालिका, कोल्टी बाजुरा रहेको छ।
स्थानीय तहले विकास निर्माणसँगै नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएका स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा लगानी बढाउँदै लैजानुपर्ने आवश्यकताबीच बुढीनन्दा नगरपालिकाको यो पहलले ‘सरकार नागरिकका लागि हो’ भन्ने अनुभूति स्थानीयस्तरमै दिलाउने प्रयासका रूपमा लिन सकिनेछ।





प्रतिक्रिया