गाैमुल खबर डटकम मङ्गलबार १३, असोज २०८३ ०४:३४

आजबाट गुञ्जियो मार्तडीमा अनन्तेको मिजुरा, बाजुराको मौलिक पर्वमा जम्यो रौनक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १२, २०८३
आजबाट गुञ्जियो मार्तडीमा अनन्तेको मिजुरा, बाजुराको मौलिक पर्वमा जम्यो रौनक

बाजुरा ः बाजुराको मौलिक लोकसंस्कृति, धार्मिक आस्था र सामाजिक एकताको पहिचान बोकेको अनन्ते मेला आजबाट सदरमुकाम मार्तडीमा सुरु भएको छ। भाद्र शुक्ल पूर्णिमासँग जोडिएको अनन्ते पर्व बाजुरेली समाजमा दशैँपछिको महत्वपूर्ण पर्वका रुपमा समेत लिइन्छ।

मार्तडीको उपरकोटस्थित अनन्त्या गडामा सुरु भएको अनन्ते मेला औपचारिक रुपमा सञ्चालन भएकाे छ। मेलामा स्थानीयबासी परम्परागत दौरा-सुरुवाल, ढाका टोपी लगायतका पोशाकमा सजिएर हातमा काँसबाट निर्मित मिजुरा बजाउँदै अनन्ते खेल्ने गर्छन्।

अनन्ते खेलमा पुरुषहरु गोल घेरामा लामबद्ध भएर दुई पक्षबाट पालैपालो गीत, गाथा र सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै रमाउने गर्दछन्। मेलामा माँगल, लाखेनाच तथा पाण्डवहरुको युद्धकौशल र युद्धनीतिसँग सम्बन्धित गाथा प्रस्तुत तथा चर्चा गर्ने परम्परा रहेको छ।

अनन्ते पर्वको उत्पत्तिका विषयमा विभिन्न जनश्रुति पाइन्छन्। स्थानीय जनविश्वास अनुसार अन्यायको अन्त्य र न्यायको सुरुवातको खुसीयालीमा अनन्ते पर्व मनाउन थालिएको मानिन्छ। महाभारतमा कौरवसँगको युद्धमा पाण्डवहरुले प्राप्त गरेको विजयलाई न्यायको विजयका रुपमा स्मरण गर्दै यो पर्व मनाउने गरिएको जनश्रुति पनि छ।

अनन्ते पर्वलाई सत्य र न्यायको विजयको प्रतीकका रुपमा समेत लिने गरिन्छ। पर्वका अवसरमा स्थानीयले कुलदेवता, कैलाश तथा मष्टा देवताको पूजा-आराधना गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र परिवारको सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने परम्परा रहेको छ।

बाजुराका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबीस लगायत जिल्लाका विभिन्न क्षेत्रमा अनन्ते पर्व आ-आफ्नै मौलिक शैली र परम्परा अनुसार मनाइँदै आएको छ। यस पर्वले बाजुराको लोकसंस्कृति, इतिहास, परम्परा र सामुदायिक सम्बन्धलाई पुस्तान्तरण गर्दै आएको स्थानीय बताउँछन्।

विशेषगरी बडीमालिका नगरपालिका-८ र ९ का स्थानीयले अनन्ते पर्वलाई विशेष महत्वका साथ मनाउने गरेका छन्। मेलामा टाढा-टाढाबाट समेत आफन्त तथा शुभेच्छुकहरु आउने भएकाले मार्तडीमा सांस्कृतिक चहलपहल बढेको छ।

यस वर्षको अनन्ते मेला व्यवस्थित, मर्यादित र भव्य रुपमा सञ्चालन गर्न स्थानीय तह तथा मेला व्यवस्थापन समितिले तयारी गरेको जनाएको छ। मेलामा स्वयंसेवक परिचालन गरी सुरक्षा तथा व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।

मिजुराको ताल, माँगलको भाका र पुस्तौँदेखिको परम्परा बोकेको अनन्ते मेला आजबाट मार्तडीमा गुञ्जिएको छ। बाजुराको पहिचानसँग जोडिएको यो पर्वले सदरमुकामलाई केही दिनका लागि मौलिक संस्कृति र उत्सवको रंगमा रंगाउनेछ।

प्रतिक्रिया