गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१५

भोटेकोशी बाढीमा बेपत्ता १५ जना अझै सम्पर्क विहीन, बाजुरामा डिएनए परीक्षण सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीमा बेपत्ता १५ जना अझै सम्पर्क विहीन, बाजुरामा डिएनए परीक्षण सुरु

बाजुरा ः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्क विहीन भएका बाजुराका नागरिकको पहिचान सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले डिएनए नमूना सङ्कलन सुरु गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्क विहीन भएका आफन्तको पहिचानका लागि हिमाली गाउँपालिकाका बिक्रम पाण्डेले शनिबार जिल्ला सदरमुकाम मार्तडी पुगेर डिएनए परीक्षणका लागि आफ्नो रगतको नमूना दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार पाण्डेको रगतको नमूना सङ्कलन गरी परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

भोटेकोशी बाढीपछि सम्पर्क विहीन भएका आफन्तको पहिचानका लागि डिएनए नमूना दिन चाहने परिवारलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न डीएसपी बोहराले आग्रह गरेकी छन्।

उनका अनुसार आफन्तको पहिचान सुनिश्चित गर्न आवश्यक प्रक्रिया अनुसार परिवारका सदस्यबाट डिएनए नमूना सङ्कलन गरिनेछ।

प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना सम्पर्क विहीन भएको विवरण प्राप्त भएको छ। तीमध्ये हिमाली गाउँपालिकाका १० जना, स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच जना र जगन्नाथ गाउँपालिकाका एक जना रहेका छन्।

सम्पर्क विहीनमध्ये हिमाली गाउँपालिका-४ का बिसी पाण्डे बाढी प्रभावित क्षेत्रमा मृत अवस्थामा फेला परेको जानकारी आफन्त मार्फत प्राप्त भएको डीएसपी बोहराले बताइन्। उनका अनुसार अन्य १५ जना अझै सम्पर्क विहीन छन्।

बाढीपछि लामो समयसम्म आफन्तको अवस्था यकिन हुन नसक्दा परिवारमा अन्योल र चिन्ता बढिरहेका बेला डिएनए परीक्षणबाट सम्भावित शव तथा बेपत्ता व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रहरीले सम्पर्क विहीन आफन्तको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउन परिवारजनलाई प्रहरीसँग समन्वय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया