बाजुरा ःगौमुल गाउँपालिका-६ नम्बर वडा कार्यालयमा बाढी पसेपछि कार्यालयका महत्वपूर्ण कागजात सहित भौतिक संरचनामा क्षति पुगेको छ।
शनिबार राति परेको भारी वर्षासँगै आएको बाढी र लेदो वडा कार्यालयमा पस्दा कार्यालयभित्र रहेका कागजात तथा अन्य भौतिक सामग्रीमा क्षति पुगेको वडा अध्यक्ष प्रकाश रोकायाले जानकारी दिएका छन्। वडा कार्यालयको केन्द्र घट्मुनामा बाढी र लेदो जमेर कार्यालयको नियमित काम समेत प्रभावित भएको छ।
बाढीका कारण कार्यालयभित्र लेदो र माटो थुप्रिएपछि आइतबार वडा कार्यालयका कर्मचारी दीपेन्द्र रोकाया लगायतले सरसफाइ गरेका छन्। कार्यालयभित्र पसेको लेदो हटाउने तथा क्षतिग्रस्त सामग्री व्यवस्थापन गर्ने काम गरिएको वडा कार्यालयले जनाएको छ।
स्थानीय सरकार नागरिकको दैनिक सेवा प्रवाह गर्ने सबै भन्दा नजिकको सरकारी निकाय हो। तर, जनतालाई सेवा दिने वडा कार्यालय नै बाढीको चपेटामा परेर कागजात र भौतिक संरचना प्रभावित भएका छन् ।
वर्षायाममा बाढी तथा पहिरोको जोखिम बढ्दै गएको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुको सुरक्षा, विपद् व्यवस्थापन तथा पूर्वतयारीमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ।





प्रतिक्रिया