बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र वीरेखोला झरनामा शुक्रबार मध्यराति भीषण बाढी आएको छ। बाढीले झरनाको प्राकृतिक स्वरुप तथा आसपासको क्षेत्रमा क्षति पुर्याउनुका साथै नजिकैको बस्तीलाई समेत उच्च जोखिममा पारेको छ।
बाढीको प्रभावका कारण झरनाको प्राकृतिक सौन्दर्यमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। झरनाको आसपास रहेका घर तथा संरचनामा थप क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
बस्ती जोखिममा परेपछि केही स्थानीयले घर छाडेर गोठ, छाना तथा अन्य सुरक्षित स्थानमा अस्थायी रुपमा बसाइँ सरेका छन्। रातको समयमा बाढी आएपछि थप विपद्को त्रासमा रहेका स्थानीयले तत्काल सुरक्षित स्थानमा सर्नुपरेको बताएका छन्।
स्थानीयका अनुसार वर्षा निरन्तर भइरहेकाले वीरेखोला क्षेत्रमा थप बाढी तथा पहिरो आउन सक्ने जोखिम कायमै छ। बस्ती नै जोखिममा परेपछि स्थानीयमा त्रास बढेको छ भने सम्भावित क्षति रोक्न सम्बन्धित निकायले तत्काल जोखिमयुक्त क्षेत्रको अनुगमन तथा आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
वीरेखोला झरना बडीमालिका नगरपालिकाको पर्यटकीय गन्तव्यका रुपमा परिचित क्षेत्र हो। पछिल्लो बाढीले यसको प्राकृतिक स्वरुपमा पुर्याएको क्षतिले स्थानीय पर्यटनमा समेत असर पर्न सक्ने चिन्ता बढाएको छ।





प्रतिक्रिया