बाजुरा ःबाजुराको बडीमालिका नगरपालिका स्थित पर्यटकीय क्षेत्र वीरेखोला झरनामा शुक्रबार मध्यराति भीषण बाढी आएको छ। बाढीका कारण झरनाको प्राकृतिक स्वरुप तथा सौन्दर्यमा क्षति पुगेको छ भने आसपासका घरहरु जोखिममा परेका छन्।
अविरल वर्षापछि आएको बाढीले झरना क्षेत्रमा ठूलो क्षति पुर्याएको हो। बाढीका कारण झरनाको स्वरुपमा समेत परिवर्तन आएको स्थानीयले बताएका छन्। प्राकृतिक सौन्दर्यका कारण आकर्षणको केन्द्र बनेको वीरेखोला झरनामा बाढीले क्षति पुर्याएपछि यसको पर्यटकीय महिमामा समेत असर परेको छ।
झरना आसपासका घरहरु अहिले जोखिममा रहेका छन्। वर्षा नरोकिएर थप बाढी आएमा घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ।
स्थानीयका अनुसार बाढीको बहाव बढ्दै गएमा आसपासको बस्तीमा समेत जोखिम बढ्न सक्छ। सम्भावित क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले तत्काल जोखिम क्षेत्रको निरीक्षण गरी आवश्यक सुरक्षा तथा संरक्षणका उपाय अपनाउनुपर्ने देखिएको छ।
प्राकृतिक सम्पदाका रुपमा चिनिएको वीरेखोला झरना संरक्षणसँगै आसपासका बस्तीको सुरक्षामा समेत तत्काल ध्यान दिनुपर्ने अवस्था देखिएको छ।





प्रतिक्रिया