नुवाकोट : बाढीपहिरोले नुवाकोट सहितका क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला नेकपा एमालेका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत स्वयं मैदानमा खटिएका छन्। विपद् व्यवस्थापन, राहत, उद्धार तथा प्रभावितको घर–आँगन सफाइमा उनी स्वयंसेवकसँगै सक्रिय भएका हुन्।
पार्टीले बागमती प्रदेशको विपद् व्यवस्थापन तथा राहत–उद्धार अभियानको नेतृत्वको जिम्मेवारी बस्नेतलाई दिएको छ। उनको नेतृत्वमा करिब एक सय स्वयंसेवक राहत, उद्धार, सरसफाइ तथा निःशुल्क खाना सेवासहित प्रभावित क्षेत्रमा परिचालित छन्। नुवाकोटमा नेशनल भोलेन्टियर फोर्स र नेपाल खेलकुद महासंघका स्वयंसेवक राहत तथा उद्धारमा सक्रिय छन्।
नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्प श्रेष्ठ र नेपाल खेलकुद महासंघका अध्यक्ष दिपेन्द्र दाहालले स्वयंसेवक टोलीको नेतृत्व गरिरहेका छन्। निरीक्षण मात्रै होइन, आफैँ मैदानमा नुवाकोट पुगेका सचिव बस्नेतले स्वयंसेवकले गरिरहेको राहत तथा उद्धार कार्यको अवलोकन मात्रै गरेनन्, आफैँ श्रममा जोडिए। उनले स्वयंसेवकसँगै प्रभावित क्षेत्रका घरमा पुगेर बिल्गचा चलाए, फोहोर उठाए र हिलो सोहोरे। नेतृत्व तहको व्यक्ति आफैँ सरसफाइमा खटिएपछि स्वयंसेवकहरूमा थप उत्साह र हौसला देखिएको छ।
विपद्का बेला नेतृत्वले आदेश दिनेभन्दा पीडितको घर-आँगनमै पुगेर काम गर्नुपर्ने सन्देश बस्नेतको सक्रियताले दिएको स्वयंसेवकहरूको भनाइ छ। बस्नेतले पार्टी नेतृत्व स्वयं प्रभावितको पीडामा साथ दिन मैदानमा रहेको बताए। “यो मानवियता देखाउने बेला हो। हामी जनताको पीडामा साथ दिन मैदानमा आएका छौँ,” उनले भने।
‘सरकार सामाजिक सञ्जालमा, हामी मैदानमा’ बस्नेतले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि मानवीय सहयोग र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताए। “सरकार सामाजिक सञ्जालमा देखिन्छ, हामी मैदानमा छौँ। हामी पीडामा छौँ, जनताको साथमा छौँ,” उनले भने।
उनका अनुसार एमालेले विपद्का बेला स्वयंसेवक परिचालनलाई प्राथमिकतामा राख्दै आएको छ। २०७२ सालको भूकम्पका बेला सरकारसँग सहकार्य गर्दै २८ हजारभन्दा बढी घर तथा टहरा निर्माणमा सहयोग गरेको स्मरण गर्दै बस्नेतले यसपटक पनि राहत, उद्धार र पुनःस्थापनामा युद्धस्तरमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
घर सफाइ गर्दा भेटिएको साढे तीन लाख घरधनीलाई फिर्ता एमाले स्वयंसेवकको अभियानले राहत वितरणसँगै इमानदारी र पारदर्शिताको उदाहरणसमेत प्रस्तुत गरेको छ। नुवाकोटमा आजै नेशनल भोलेन्टियर फोर्स र नेपाल खेलकुद महासंघका स्वयंसेवकले एक प्रभावित घर सफाइ गर्ने क्रममा भेटिएको साढे तीन लाख रुपैयाँ सम्बन्धित घरधनीलाई बुझाएका छन्।
विपद्को समयमा भेटिएको रकम आफूहरूले राख्ने वा अन्यत्र प्रयोग गर्नेभन्दा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर स्वयंसेवकले मानवीय सेवासँगै नैतिक जिम्मेवारीको सन्देश दिएका छन्। निःशुल्क खाना सेवासहित स्वयंसेवक मैदानमा एमालेको स्वयंसेवक अभियानअन्तर्गत प्रभावित, विस्थापित, आफन्तको शव लिन तथा पहिचानका लागि आएका परिवार र उद्धारमा खटिएकालाई लक्षित गरी निःशुल्क खाना सेवा शिविरसमेत सञ्चालनमा छ।
राहत सामग्री वितरणसँगै प्रभावितको तत्कालीन आवश्यकता पहिचान गरी खाना, सरसफाइ तथा अन्य आवश्यक सहयोगमा स्वयंसेवक परिचालित छन्। विशेषगरी आफन्तको शव लिन वा पहिचानका लागि लामो समय प्रभावित क्षेत्रमा बस्नुपर्ने परिवारका लागि खाना तथा बसोबासको समस्या देखिएपछि निःशुल्क खाना सेवा सञ्चालन गरिएको हो।
ओली भोलि नुवाकोट जाने एमाले अध्यक्ष केपी शर्मा ओली भोलि नुवाकोट पुग्ने कार्यक्रम छ। अध्यक्ष ओलीले बाढीपहिरो प्रभावितको अवस्था बुझ्नुका साथै स्वयंसेवकले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानको अवलोकन गर्ने बताइएको छ। भोलि बिहान ११ बजे एमाले केन्द्रीय कार्यालयबाट नुवाकोट र रसुवाका बाढीपीडितका लागि पार्टीको तर्फबाट राहत सामग्री पठाइने कार्यक्रमसमेत रहेको छ। राहत सामग्री अध्यक्ष ओलीको उपस्थितिमा पठाइने जनाइएको छ।
तीन जिल्लामा सहयोग समिति गठन एमालेले राहत, उद्धार तथा पुनःस्थापनालाई थप व्यवस्थित बनाउन रसुवा, नुवाकोट र धादिङमा जिल्ला तहका सहयोग समिति समेत गठन गरेको छ। केन्द्रीय नेतृत्वको प्रत्यक्ष निगरानी, स्वयंसेवकको मैदानस्तरीय परिचालन र जिल्ला तहको समन्वयमार्फत प्रभावित परिवारसम्म राहत पुर्याउने एमालेको योजना छ।
बाढीपहिरोले पीडितलाई तत्काल राहतसँगै घर, बस्ती र जनजीवन पुनःस्थापनाको चुनौती थपिँदै गएको अवस्थामा एमालेले राजनीतिक गतिविधि भन्दा माथि उठेर स्वयंसेवक परिचालन, श्रमदान, राहत वितरण र मानवीय सेवामार्फत प्रभावितको घरदैलोमा पुग्ने अभियान अघि बढाएको जनाएको छ। सचिव महेश बस्नेत स्वयं हिलोमा पसेर स्वयंसेवकसँगै काममा जोडिनुले भने एउटा स्पष्ट सन्देश दिएको छ । विपद्को समयमा नेतृत्व भाषणमा होइन, जनताको आँगनमा देखिनुपर्छ।





प्रतिक्रिया