बाजुरा ः नेपाली कांग्रेस बाजुराले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विपद्को कठिन परिस्थितिमा मानवीय सहयोग र ऐक्यबद्धता प्रकट गर्दै कांग्रेस बाजुराले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीले आफ्नो तर्फबाट सहयोग गरेको कांग्रेस बाजुराले जनाएको छ।
कांग्रेस बाजुराका अनुसार विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व हो। देशको जुनसुकै भूगोलमा विपद् आइपर्दा पनि आपसी सद्भाव, मानवीय सहयोग र एकताका साथ अघि बढ्नुपर्ने सन्देश सहित सहयोग गरिएको हो।
कांग्रेस बाजुराले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।





प्रतिक्रिया