गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५३

संकटमा बेपत्ता परिवारको आँसु पुछ्दै एमाले नेता बोगटी, पीडितलाई व्यक्तिगत सहयोग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १७, २०८३
संकटमा बेपत्ता परिवारको आँसु पुछ्दै एमाले नेता बोगटी, पीडितलाई व्यक्तिगत सहयोग

बाजुरा ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य सहदेव बोगटीले बाढीका कारण प्रभावित तथा आफन्त सम्पर्क विहीन भएका परिवारसँग प्रत्यक्ष भेटघाट गरी सान्त्वना र व्यक्तिगत आर्थिक सहयोग प्रदान गरेका छन्।

गत भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट ठूलो क्षति व्यहोरेका तथा आफन्त सम्पर्क विहीन भएपछि पीडामा रहेका बाजुराको हिमाली गाउँपालिका-६ का परिवारसँग नेता बोगटीले भेटघाट गरेका हुन्।

उनले संकटको घडीमा सम्पर्क विहीन मोहन रोकाया, विक्रम भण्डारी, दीपे सार्की र बिसी पाण्डेका परिवारसँग भेट गरी उनीहरुको अवस्था बुझेका छन्।

भेटका क्रममा बोगटीले बाढीपछि सम्पर्क विहीन विक्रम भण्डारीका भाइ विपिन भण्डारी, मोहन रोकायाकी श्रीमती विमला रोकाया, दीपे सार्कीकी श्रीमती मनसरी सार्की र बिसी पाण्डेकी श्रीमती नानी पाण्डेलाई व्यक्तिगत तर्फबाट जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेका हुन्।

बोगटीले विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई आफू एक्लै नछोड्ने प्रतिबद्धता सहित उनीहरुको दुःखमा साथ र आवश्यक सहयोगका लागि निरन्तर समन्वय गर्दै आएको बताएका छन्।

यस अघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेता बोगटीका छोरा तथा एक्स इन फिनका सीईओ यज्ञराज बोगटीले ५० हजार रुपैयाँ सहयोग जम्मा गरिसकेका छन्।

बोगटीले प्रत्यक्ष भेटघाट सम्भव नभएका परिवारसँग समेत टेलिफोन मार्फत नियमित सम्पर्क गर्दै उनीहरुको अवस्थाबारे जानकारी लिने, सान्त्वना दिने तथा आवश्यक सहयोगका लागि सम्बन्धित पक्षसँग समन्वय गर्दै आएका छन्।

सम्भव भएका स्थानमा स्वयं उपस्थित भएर पीडित परिवारको अवस्था बुझ्ने, बेपत्ताका परिवारसँग नियमित सम्पर्क तथा सोधपुछ गर्ने र दुःख-सुखमा साथ दिने कार्यलाई निरन्तरता दिइरहेको बोगटीको भनाइ छ।

विपद्को समयमा आर्थिक सहयोगसँगै पीडित परिवारको दुःखमा प्रत्यक्ष उपस्थित भएर सान्त्वना दिनुले संकटमा मानवीय साथ र सहकार्यको आवश्यकता झनै उजागर गरेको छ।

प्रतिक्रिया