बाजुरा ःगौमुल गाउँपालिकामा सञ्चालित स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कुपोषण न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले कुपोषण सम्बन्धी सूचकहरुको नक्सांकन तथा छनोटमा सहयोग पुर्याउने अन्तरक्रिया बैठक आयोजना गरिएको छ।
गौमुल गाउँपालिकाको साझेदारी तथा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम अन्तर्गत गाउँपालिकाको सभा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई दिवा खाजासँग जोड्दै बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन आवश्यक सूचकहरूको पहिचान, नक्सांकन तथा छनोटका विषयमा छलफल गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्द्धनसँगै बालबालिकाको पोषण आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सहभागीबीच अन्तरक्रिया भएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण गौमुल गाउँपालिकाका शिक्षा शाखा प्रमुख भक्तबहादुर रोकाया र कृषि शाखा प्रमुख दीपेन्द्र सार्कीले गरेका थिए। कार्यक्रमको सञ्चालन स्थानीय स्रोत व्यक्ति रमेश बहादुर रोकायाले गरेका थिए। कार्यक्रममा विभिन्न सहकारीका व्यवस्थापक तथा पदाधिकारी, कृषक समूहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।
स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजासँग जोडेर बालबालिकालाई पोषणयुक्त आहार उपलब्ध गराउने तथा स्थानीय कृषकको उत्पादनलाई बजार सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको कार्यक्रमले शिक्षा, कृषि र पोषण क्षेत्रलाई एकैसाथ जोड्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया