बुढीगंगा नगरपालिकाले विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनेदेखि ग्रामीण सडक मर्मतसम्मका महत्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले हालै गरेको निर्णय अनुसार बाढी-पहिरो तथा अन्य विपद्बाट प्रभावितलाई राहत रकम उपलब्ध गराउनुका साथै सडक, लघु जलविद्युत् आयोजना र विपद् व्यवस्थापनमा आवश्यक खर्च गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको निर्णय अनुसार वडा नं. ६ का चन्द्र पाध्यालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाउँदा लागेको वास्तविक भाडा खर्च पालिकाको आवश्यक दायित्व बमोजिम भुक्तानी गर्ने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
त्यस्तै, भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । यसका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख ३१ हजार रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधा समेत विपद् व्यवस्थापनमा जोड्दै नगर प्रमुखको १५ दिन, नगर उपप्रमुखको १४ दिन, वडा अध्यक्ष ७ दिन, कार्यपालिका सदस्य ५ दिन, अधिकृतस्तरका कर्मचारीको ७ दिन, माध्यमिक तहका शिक्षकको ९ दिन बराबरको सेवा सुविधा कट्टा गरी सहयोग गर्ने निर्णय गरेको छ ।
विद्यालयका निमावि-प्रावि तहका शिक्षक, सहायकस्तरका कर्मचारी, वडा सदस्य र कार्यालय सहयोगीहरुको सेवा सुविधाबाट समेत निश्चित दिन बराबरको जम्मा रकम २२ लाख ९२ हजार ३ सय ३२ रुपैया रकम विपद् कोषमा योगदान गर्ने निर्णय भएको छ ।
लघु जलविद्युत् मर्मतमा पनि बजेट
नगरपालिकाले बार्जुगाड लघु जलविद्युत् आयोजनाको कुल्देमाण्डौं नहर मर्मतका लागि १ लाख रुपैयाँ र ईकडीगाड लघु जलविद्युत् आयोजना अन्तर्गत वडा नं. ९ र १० का नहर मर्मतका लागि ५० हजार रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेको छ ।
यसैगरी, वडा नं. ५ मा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पतालको भू-संरचना तथा निर्माण सम्बन्धी विषयमा भौगोलिक अध्ययन गराउने निर्णय समेत गरिएको छ ।
अध्ययनका लागि अन्य निकाय तथा इन्जिनियरिङ अध्ययन संस्थासँग समन्वय गरी प्राविधिक मूल्याङ्कन गराउने र प्राप्त प्रतिवेदनका आधारमा थप निर्णय लिने नगरपालिकाले जनाएको छ ।
ग्रामीण सडक अब प्राविधिक मूल्याङ्कनपछि मात्रै मर्मत
बुढीगंगा नगरपालिकाले नगरभित्रका सबै ग्रामीण सडकलाई प्राविधिक मूल्याङ्कनका आधारमा सडक सरसफाइ तथा मर्मत गर्ने निर्णय गरेको छ ।
वर्षायाममा बाढी-पहिरोका कारण सडक अवरुद्ध हुने समस्या बढिरहेका बेला गरिएको यो निर्णयले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ ।
विपद्का बेला उद्धार, राहत र उपचारलाई प्राथमिकता दिँदै जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाबाट समेत योगदान गर्ने, विपद् कोष परिचालन गर्ने तथा सडक र विद्युत् संरचनाको मर्मतमा बजेट केन्द्रित गर्ने नगरपालिकाको निर्णयले विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउने संकेत गरेको छ ।





प्रतिक्रिया