गाैमुल खबर डटकम बुधबार १७, भदौ २०८३ ११:२०

रसुवा बाढीको पीडामा बाजुराको स्वामीकार्तिक खापर, दुई दिनको पारिश्रमिक राहतमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १७, २०८३
रसुवा बाढीको पीडामा बाजुराको स्वामीकार्तिक खापर, दुई दिनको पारिश्रमिक राहतमा

बाजुरा ःरसुवा जिल्लाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकप्रति स्वामीकार्तिक खापर गाउँपालिकाले दुःख व्यक्त गर्दै खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

गाउँपालिकाले सोमबार एक अपिल जारी गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको हो।

विपद्मा परी आफन्त गुमाएका परिवार तथा बेपत्ता व्यक्तिका परिवारप्रति गाउँपालिकाले समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

गाउँपालिकाले प्रभावित क्षेत्रमा स्वामीकार्तिक खापर गाउँपालिकामा बसोबास गर्ने कुनै व्यक्ति वा परिवार हालसम्म सम्पर्कमा नआएको भए उपलब्ध गराइएका सम्पर्क नम्बरमा यथाशीघ्र जानकारी गराउन समेत आग्रह गरेको छ। यसबाट प्रभावित नागरिकको खोज तथा उद्धार कार्यमा सहजीकरण हुने गाउँपालिकाको अपेक्षा छ।

त्यसैगरी, गाउँपालिकाका पदाधिकारी तथा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीले पाउने सेवा, सुविधा एवं पारिश्रमिकबाट दुई दिन बराबरको रकम बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आफ्नो क्षेत्रबाहिर रहेका विपद्पीडित नागरिकको सहयोगका लागि स्थानीय उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, समाजसेवी, नागरिक समाज तथा विभिन्न संघ-संस्थालाई समेत आफ्नो सामर्थ्य अनुसार सहयोग गर्न हार्दिक अपिल गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिंह भण्डारीद्वारा जारी अपिलमा विपद्को यस कठिन घडीमा मानवीय सहयोग र एकताका साथ प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न सबैमा आग्रह गरिएको छ।

May be an image of blueprint, map and text

प्रतिक्रिया