बाजुरा ः गौमुल गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम, सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मूल्य पोषण सन्देश सम्बन्धी अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय उत्पादनलाई दिवा खाजा कार्यक्रमसँग जोड्दै बालबालिकाको पोषण अवस्था सुधार गर्ने, स्वस्थ खानपान सम्बन्धी व्यवहार विकास गर्ने तथा पोषण सम्बन्धी सन्देश समुदायस्तरसम्म प्रभावकारी रुपमा पुर्याउने विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा स्थानीयस्तरमा उपलब्ध कृषि तथा खाद्य उत्पादनको प्रयोग मार्फत बालबालिकालाई पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो । साथै, सामाजिक तथा व्यवहार परिवर्तन सञ्चारका माध्यमबाट बालबालिका, अभिभावक तथा समुदायमा पोषण र स्वस्थ खानपानसम्बन्धी सकारात्मक व्यवहार विकास गराउने विषयमा छलफल गरिएको थियो ।
अभिमुखीकरणमा सिनियर अनमी रमा बुढ्थापा र पोषण संयोजक दिल धामीले प्रशिक्षण दिएका थिए । उनीहरुले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषण, स्थानीय खाद्यवस्तुको उपयोग, सन्तुलित आहार तथा पोषण सम्बन्धी सन्देशलाई व्यवहारमा उतार्नुपर्ने विषयमा जानकारी गराएका थिए ।
स्थानीय स्राेत व्यक्ति रमेश रोकायाले सञ्चालन गरेको कार्यक्रममा कृषि शाखा प्रमुख दीपेन्द्र सार्की, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित वि.क.लगायत स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
गौमुल गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने खाद्यवस्तुको उपयोगलाई प्राथमिकता दिँदै दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ । स्थानीय उत्पादनको उपभोग बढाउँदा एकातिर बालबालिकाले ताजा तथा पोषणयुक्त खाना पाउने र अर्कोतर्फ स्थानीय किसानको उत्पादनले बजार पाउने भएकाले कार्यक्रमलाई पोषण र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
अभिमुखीकरणले दिवा खाजा कार्यक्रमलाई विद्यालयमा खाना उपलब्ध गराउने कार्यक्रमका रुपमा नभई स्थानीय उत्पादनको प्रवर्द्धन, बालबालिकाको पोषण सुधार र सामाजिक व्यवहार परिवर्तनसँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया