गाैमुल खबर डटकम बुधबार १०, भदौ २०८३ ०७:०५

बडीमालिकामा अक्सिजनको कमीले युवक थलिए, हेलिकप्टरबाट सुर्खेत लगियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १०, २०८३
बडीमालिकामा अक्सिजनको कमीले युवक थलिए, हेलिकप्टरबाट सुर्खेत लगियो

बाजुरा ः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा लेक लागेर एक युवक गम्भीर बिरामी भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

बुढीगंगा नगरपालिका-६ का अन्दाजी ३४ वर्षीय चन्द्र पाध्याय बुधबार बिहान बडीमालिकाको त्रिवेणी पाटनमा बिरामी भएका हुन्।

बडीमालिका मेला भर्न तथा भगवती मन्दिर दर्शनका लागि पुगेका पाध्यायलाई उचाइका कारण अक्सिजनको मात्रा कम भएपछि स्वास्थ्यमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

स्वास्थ्य अवस्था गम्भीर भएपछि पाध्यायलाई त्रिवेणी पाटनबाट नेपाली सेनाको हेलिकप्टर मार्फत तत्काल उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

पाध्यायको उद्धारका लागि हेलिकप्टरको व्यवस्था तथा समन्वयमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र ईश्वर बक्स गुल्मका गुल्मपति सञ्जय तिमिल्सिनाको विशेष पहल रहेको बताइएको छ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्छ। यस वर्ष भदौ ११ गते बिहीबार बडीमालिकामा मुख्य पूजा तथा मेला हुँदैछ।

मुख्य पूजा तथा मेलाको पूर्वसन्ध्यामा बडीमालिका क्षेत्रमा दर्शनार्थीको चाप बढिरहेका बेला उचाइका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया